पाथीभरा दर्शन गरेर फर्किँदै गर्दा झापामा इभी भ्यान दुर्घटना, ९ जना घाइते

दमक— ताप्लेजुङको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिर दर्शन गरेर फर्किएका दर्शनार्थी सवार इभी भ्यान झापामा दुर्घटनामा पर्दा ९ जना घाइते भएका छन्। दुर्घटना शुक्रबार विहानका राति मेची राजमार्गअन्तर्गत बुद्धशान्ति गाउँपालिका–३ धर्मकाँटास्थित सडक खण्डमा भएको हो।

प्रदेश १–०१–००१ ज ४०८८ नम्बरको भ्यान बिर्तामोडतर्फ आउँदै गर्दा अनियन्त्रित भई सडक किनारमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। दुर्घटनामा घाइते हुनेमा भ्यान चालकसहित ९ जना छन्।

घाइतेहरूमा ताप्लेजुङ फुङलिङ–२ का ३० वर्षीय चालक तथा भ्यानका धनी लाक्पा थेपेन शेर्पा, भक्तपुर चाँगुनारायण–१ का १२ वर्षीय सेसेहाङ सुवा, १९ वर्षीया सुविमा लिम्बू, ३४ वर्षीय प्रेम यौङहाङ, ३२ वर्षीय टीका लिम्बू, झापा अर्जुनधारा–१० का ४४ वर्षीय विजय लिम्बू, ४२ वर्षीया मनकुमारी लिम्बू, दमक–३ की २१ वर्षीया मनिता धिमाल र ४३ वर्षीय रीता धिमाल छन्।

उनीहरू सबैलाई तत्काल उद्धार गरी बिर्तामोडस्थित बी एन्ड सी अस्पताल पु¥याइएको छ। झापा प्रहरीका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार सबै घाइतेहरूको अवस्था सामान्य छ।

चालक शेर्पालाई इलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाको प्रारम्भिक कारण भ्यान अनियन्त्रित भएर दुर्घटना भएको अनुमान गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट