मन्त्री र मेयरलाई फोनमार्फत धम्की दिने टिकटकर किरण साह विरुद्ध ३ वटा मुद्दा

वीरगञ्ज– संघीय खानेपानीमन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई टेलिफोनमार्फत धम्की दिएको आरोपमा पक्राउ परेकी बारा कलैयाकी २३ वर्षीया किरण साह उपर तीनवटा मुद्दा दायर भएको छ।
प्रहरीका अनुसार साहविरुद्ध साइबर क्राइम, संघीय सांसदलाई ज्यान मार्ने धम्की र झुटा अफवाह फैलाएको आरोपमा मुद्दा दर्ता गरिएको हो।
पर्सा प्रहरी कार्यालयका डीएसपी किशोर लम्सालका अनुसार शनिबार वीरगन्जबाट पक्राउ परेकी टिकटकर साहलाई सोधपुछपछि आइतबार जिल्ला अदालतमा पेस गरिएको थियो।
अदालतले प्रारम्भिक सुनुवाइपछि थप अनुसन्धानका लागि तीन दिनको म्याद प्रदान गरेको छ।
प्रहरीले साहले मन्त्री यादव र मेयर सिंहलाई मोबाइलमार्फत धम्की दिएर सार्वजनिक आतंक सिर्जना गर्न खोजेको आशंका गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया