मोरङमा सशस्त्र प्रहरीका हवल्दार लागुऔषधसहित पक्राउ

विराटनगर — मोरङमा सशस्त्र प्रहरी हवल्दार लागुऔषधसहित पक्राउ परेका छन्। मोरङको रतुवामाई नगरपालिका–१ चुनीमारीस्थित प्रस्तावित सीमा सुरक्षा गुल्म बरडंगामा खटिएका ३६ वर्षीय हवल्दार मनिष गिरी पक्राउ परेका हुन्।

पर्साको वीरगञ्ज घर भएका गिरीलाई मंगलबार राति सशस्त्र प्रहरीले नै नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाएको हो।

सशस्त्र प्रहरीले दिएको जानकारीअनुसार गिरीको ओछ्यानको सिरानीमुनि प्लास्टिकमा लुकाइएको ३० मिलिग्राम ब्राउन सुगर (खैरो हेरोइन) बरामद गरिएको छ। पक्राउ परेपछि उनलाई अदालतमा पेश गरी बुधबार म्याद थप गरिएको र लागुऔषध ऐनअन्तर्गत अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीका डीएसपी कोपिला चुँडालले बताइन्।

डीएसपी चुँडालका अनुसार गिरी लागुऔषधको कारोबारी हुन् कि सामान्य प्रयोगकर्ता भन्ने कुरा विस्तृत अनुसन्धानपछि मात्रै स्पष्ट हुने छ। उनले सुरक्षा निकायमै कार्यरत व्यक्ति लागुऔषधमा संलग्न पाइनु गम्भीर विषय भएको उल्लेख गरिन्।

हाल गिरीमाथि इलाका प्रहरी कार्यालय सिजुवाले थप अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट