मन्त्रीको गाडीको ठक्करमा बालिका घाइते, प्रधानमन्त्री ओलीले भने– छोएको मात्रै हो, राजनीति नगरौं

काठमाडौँ — कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर चढेको सरकारी गाडीले ललितपुरको हरिसिद्धीमा एक बालिकालाई ठक्कर दिएको घटना सार्वजनिक चासोको विषय भनेको छ।

शनिबार बिहान करिब सवा ७ बजे ललितपुर महानगरपालिका–२८, हरिसिद्धी माध्यमिक विद्यालय अगाडिको मूल सडकमा मन्त्री मगर सवार को १ झ ६९९ नम्बरको गाडीले ११ वर्षीया उषा सुनारलाई ठक्कर दिएको हो। उषा परिवारसहित त्यहाँ डेरा गरी बस्दै आएकी थिइन्। उनकी आमा वैदेशिक रोजगारीका लागि विदेशमा छिन्।

दुर्घटनापछि मन्त्री सवार गाडी रोकिएन, बरु सीधा अगाडि बढेको स्थानीयले बताएका छन्। यही कारण आक्रोशित स्थानीयले सडक अवरुद्ध गर्दै विरोध गरेका थिए। प्रहरीको पहलमा बालिकालाई उपचारका लागि अस्पताल पठाइएको र पछि वार्तापछि सडक खुलेको थियो।

घटनापछि सार्वजनिक सिसिटिभी फुटेजले विवादलाई थप चर्काएको छ। फुटेजमा जेब्रा क्रसिङ नजिक बाटो काट्न लाग्दा मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएको देखिन्छ। बालिका पछारिए पनि गाडी रोकिएन, बरु गाडी भगाएको स्पष्ट देखिएको छ। बालिकालाई पछाडि आइरहेको मोटरसाइकलमा सवार एक महिलाले उठाएकी थिईन।

उषालाई प्रारम्भिक उपचारपछि डिस्चार्ज गरिएको थियो। तर, थप परीक्षणका लागि बीएन्डबी अस्पतालमा भर्ना गरिएको छ। जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक श्याम अधिकारीका अनुसार उनको अवस्था सामान्य छ।

घटनाका कारण गोदावरीमा सुरु भएको नेकपा (एमाले)को विधान महाधिवेशनमा पनि प्रत्यक्ष असर परेको छ। कार्यक्रम करिब एक घण्टा ढिलो सुरु भयो। कार्यक्रममा सम्बोधन गर्दै एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले घटनाप्रति दुःख व्यक्त गर्दै बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले व्यहोर्ने घोषणा गरे।

तर ओलीले दुर्घटनालाई ‘सामान्य ठक्कर’ मात्र भएको बताए। साथै, उनले यो घटनालाई लिएर कसैले महाधिवेशन भाँड्ने गरी राजनीति गर्न खोजेको आरोप समेत लगाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट