देशभर सेनाको कर्फ्यु आदेश, सर्वोच्च अदालत जलेपछि अनिश्चितकालका लागि सुनुवाइ स्थगित

काठमाडौँ– देशभर चर्किएको जेन–जी आन्दोलनको प्रभावसँगै सुरक्षा निकाय र न्याय क्षेत्र दुवै पक्षबाट ठूलो कदम चालिएको छ। नेपाली सेनाले शान्ति–सुरक्षालाई मध्यनजर गर्दै देशभर कर्फ्यु आदेश जारी गरेको छ भने सर्वोच्च अदालतले आफ्नो भवन जलेर क्षतिग्रस्त भएपछि सबै मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ।

नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा भोलि बिहान ६ बजेसम्म कर्फ्यु लागू हुने जानकारी दिइएको छ। आन्दोलनको नाममा विभिन्न अराजक गतिविधि बढिरहेको र सार्वजनिक सम्पत्तिमा तोडफोड, आगजनी, लुटपाट, हिंस्रक आक्रमण, बलात्कारका प्रयासजस्ता घटनाहरु हुनसक्ने भन्दै सेनाले यस्तो कदम चालेको हो।

सेनाले सबैलाई सहकार्य गर्न आह्वान गर्दै निषेधाज्ञा र कर्फ्युको समयमा अत्यावश्यक सेवाका सवारी साधन (जस्तै एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका सवारी साधन) मात्र सञ्चालनमा रहने जनाएको छ। साथै अफवाहमा नलागी आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह गरिएको छ। सेनाले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई कायम राख्दै जनजीवन सामान्य बनाउन निरन्तर प्रयास गर्ने प्रतिवद्धता पनि प्रकट गरेको छ।

सर्वोच्च अदालत पूर्णरुपमा क्षतिग्रस्त
यसैबीच, आन्दोलनकारीले मंगलबार सर्वोच्च अदालतमा आगजनी गरेपछि भवन पूर्णरुपमा क्षतिग्रस्त भएको छ। अदालत जलेर ध्वस्त भएपछि त्यहाँ भइरहेको सबै मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरिएको सर्वोच्च प्रशासनले जनाएको छ।

सर्वोच्च अदालत मुलुकको सर्वोच्च न्यायिक निकाय भएकाले यसमा भएको क्षति अत्यन्त गम्भीर मानिएको छ। यसले न्यायिक प्रक्रियामा ठुलो अवरोध ल्याउने देखिन्छ। योसँगै जेन–जी आन्दोलनको चपेटामा मुलुकको कानुनी र सुरक्षा प्रणाली नै गम्भीर संकटमा परेको छ। एकातिर सेनाले शान्ति–सुरक्षा कायम राख्न कर्फ्यु आदेश जारी गरेको छ भने अर्कोतिर मुलुकको सर्वोच्च अदालत नै जलेर कामकाज ठप्प भएको छ। आगामी दिनमा आन्दोलन नियन्त्रण र न्यायिक प्रक्रिया सञ्चालन कसरी अगाडि बढ्छ भन्ने विषयमा सबैको चासो केन्द्रित छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट