१० लाखको लुटपाटमा संलग्न भई बर्खास्त पूर्व प्रहरीले डीएसपीको युनिफर्म लगाएर प्रहरी कार्यालय जलाए

काठमाडौँ– जेनजी आन्दोलनका क्रममा डीएसपीको युनिफर्ममा राष्ट्रिय झण्डा बोकेर न्यूरोडस्थित प्रहरी वृत्त जनसेवासहितका सरकारी कार्यालय जलाउने युवक पूर्व प्रहरी भएको खुलेको छ। उनको भीडीओ सामाजिक सञ्जालमा भाइरल छ।

उनी पर्सा घर भएका सुरज कुमार रौनियार हुन। प्रहरी अधिकारीको पोशाक लगाएर आन्दोलन भड्काउने र आगजनी गर्ने काममा उनको संलग्नता देखिएको छ। ती युवकले भिडियोमा भनेका छन्–‘अब लगालग गर्ने हो, एकदमै लगालग।’

भिडियोमा उनी आफ्नै मोबाइलबाट नारा लगाउँदै र भिडलाई उत्तेजित पार्दै गरेको देखिन्छ। रौनियार भक्तपुरमा कार्यरत रहँदा आपराधिक गतिविधिमा संलग्न भएको भेटिएपछि प्रहरी प्रधान कार्यालयले ०७८ सालमा बर्खास्त गरेको थियो। ठगीमा संलग्नता प्रमाणित भएपछि उनको जागिर खोसिएको जनाईएको छ।

उपत्यका प्रहरी कार्यालयका एक अधिकृतका अनुसार रौनियार २०८१ सालमा १० लाख रुपैयाँसहितको नगद लुटपाटको अभियोगमा पक्राउ परेका थिए।

जेनजी आन्दोलनको मौका छोपेर प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा समेत रौनियारको संलग्नता देखिएको प्रहरी स्रोतले जनाएको छ। ‘रौनियार विभिन्न प्रहरी कार्यालयमा आगजनी र तोडफोडमा संलग्न भएको देखिन्छ। उनीबारे थप अनुसन्धान भइरहेको छ’– उपत्यका प्रहरी कार्यालयका एक वरिष्ठ अधिकृतले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट