विराटनगरमा देवरद्वारा भाउजूमाथि एसिड प्रहार

विराटनगर– विराटनगरमा एक युवकले आफनै भाउजुमाथि एसिड प्रहार गरेका छन्। विराटनगर महानगरपालिका–९ का २५ वर्षीय छोटु भनिने श्रवण साहले भाउजू २२ वर्षीया रागिनीदेवी साहमाथि एसिड प्रहार गरेका हुन्।
दाजु घरमा नभएको मौकामा श्रवणले वियरको बोतलमा हालेर ल्याएको एसिड भाउजूलाई प्रहार गरेका थिए। उनले अनुहार लक्षित गरेर एसिड प्रहार गर्दा रागिनीदेवीले रोक्ने प्रयास गरेकी र्थिन। त्यसक्रममा रागिनीको हात र शरीरका अन्य भागमा समेत एसिड लागेको प्रहरीले जनाएको छ।
गम्भीर घाइते रागिनीदेवीलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा लगिएको छ। प्रारम्भिक उपचारपछि उनको अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ।
मोरङ प्रहरीका अनुसार, प्रारम्भिक अनुसन्धानले लेनदेन तथा घरायसी विवादका कारण घटनामा एसिड प्रहार भएको तथ्य खुलेको छ। घटनापछि फरार रहेका श्रवण साहको खोजी तीव्र पारिएको मोरङ प्रहरीकी डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।
स्थानीयले भने घरायसी विवादलाई हिंस्रक रूपमा बढाएर एसिड जस्तो घातक पदार्थ प्रयोग गर्नु समाजकै लागि खतरनाक प्रवृत्ति भएको भन्दै दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।