भाटभटेनीमा जलेर मृत्यु भएकाप्रति ‘बिचरा’ भन्ने समाज, घाँटी रेटेर मारिएका प्रहरीप्रति किन मौन ?

काठमाडौँ— जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) देशभर अराजकता फैलियो। त्यही दिन राजधानीमा तीन प्रहरीको निर्मम हत्या भयो। तीमध्ये दुई जना महाराजगन्ज प्रहरी वृत्तमै कार्यरत असई मिलन राय र प्रहरी जवान उत्तम थापा थिए भने अर्का कोटेश्वर प्रहरी प्रभागका सहायक हवल्दार अमृत गुरुङ।

महाराजगन्जमा भएको झडपमा प्रहरीलाई आन्दोलनकारीले घेराबन्दी गर्दै कुटपिट गरे। निरन्तर आक्रमण सहन नसकेपछि असई राय र जवान थापाले ज्यान गुमाए। यही घटनामा संलग्न भएको आरोपमा २६ वर्षीय युवराज क्यापछाकीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरकी डिएसपी पूर्णिमा चन्दले जानकारी दिइन्।

तर, सबैभन्दा क्रुर दृश्य कोटेश्वरमा देखियो। कोटेश्वरकी रोजिना जंगम त्यो दिन दिदीलाई भेट्न जाँदै थिइन्। दिउँसो साढे दुई बजेतिर उनले ट्राफिक प्रहरी कार्यालय र प्रहरी प्रभागमा धुवाँको मुस्लो देखिन। प्रहरीहरू आतंकित भएर भागिरहेका थिए। तर सहायक हवल्दार अमृत गुरुङलाई आन्दोलनकारीले समातेर घिसार्दै प्रभाग बाहिर ल्याए।

‘उनी भाग्न खोजिरहेका थिए, तर सकेनन्। उनको सबै लुगा च्यातेर नांगो बनाइयो। ढाडमा धारिलो हतियार प्रहार भयो, उनी मुर्छा परे,’ रोजिनाले भनिन्। बेहोस भएपछि पनि उनिमाथिको आक्रमण भने रोकिएन। मास्क र क्याप लगाएका करिब आधा दर्जन युवाले अमृतलाई लगातार कुटिरहे।

सयौँ मानिस त्यसलाई तमासा झैँ हेरिरहेका थिए। कोही भिडिओ बनाउन व्यस्त, कोही टिकटक–युट्युबमा लाइभ, कोही फेरि ‘यिनै पुलिसले हिजो जेनजीलाई मारेका हुन्’ भन्दै भीडलाई उक्साइरहेका थिए।

‘भुइँमा ढलेपछि पनि उनलाई उठाएर फेरि कुटिन्थ्यो। अन्ततः उनको गलामा धारिलो हतियार प्रहार भयो र उनी रक्ताम्य भएर ढले,’ रोजिना भन्छिन्। मोबाइलमा दृश्य खिच्न खोज्दा रोजिनालाई पनि भीडले कपाल लुछेर लडायो। उनको मोबाइल खोसियो। पछि अपरिचितले उनलाई ‘नानी, जानुहोस्, तपाईंलाई जे पनि गर्न सक्छन’ भन्दै बचाइदिए। रोजिना सामुदायिक प्रहरीकी आजीवन सदस्य पनि हुन्।

अमृत गुरुङले ९ महिना अघिमात्र आमा गुमाएका थिए। घरमा ‘बाबा’ भन्न पनि नसक्ने दूधे बालक छन्। श्रीमती अझै लाऊँलाऊँ–खाऊँखाऊँ उमेरकी थिइन्। ६० वर्षीय बुवा जवान छोरा गुमाएर बेसहारा बने। परिवारको एक मात्र सहारा अमृत नै थिए।

रोजिना भन्छिन्, ‘आज पनि सम्झँदा आङ जिरिंग हुन्छ। प्रहरी पनि त कसैको छोरा, भाइ, दाइ, श्रीमान्, बाबु हुन्। हामी किन र कसरी यो हदसम्म क्रूर बन्न पुग्यौँ?’

यो प्रदर्शनको दुई दिनमै ७४ जनाले ज्यान गुमाए। विशुद्ध देशको अवस्था परिवर्तनका लागि सरकारलाई सचेत गराउन पुगेका अवोध बालबालिकाको ज्यान गयो। त्यस वाहेक बालबालिकाको आडमा आतंक मच्चाउन र ब्यापारिक प्रतिष्ठानमा चोरीको उदेश्यले गएका एक दजर्नभन्दा वढिको पनि मृत्यु भयो।

तर, साहानुभुतिका शब्द एकतर्फी मात्रै छन्। भाटभटेनी सुपरमार्केटमा चोरी गर्न पसेका वेला मरेकालाई ‘विचरा’ भन्ने हाम्रो समाज ‘घाँटी काटेर मारिएका’ प्रहरीका विषयमा भने साहानुभूतिका एक शब्द पनि खर्च गर्न सकिरहेको छैन। प्रहरीमाथि भएको अराजक हमलाले सामूहिक चेतनामा गहिरो दाग लगाएको छ। महाराजगन्जदेखि कोटेश्वरसम्म फैलिएको त्यो हिंसाले राज्य, आन्दोलन र समाजबीचको सम्बन्धबारे गम्भीर प्रश्न खडा गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट