सिरहामा १५ वर्षीय बालकको हत्या प्रकरणः ट्याक्टर चलाउन नदिँदा भतिजाको सनकले निम्त्याएको दुर्घटना

लहान– सिरहाको गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहामा ५ असोजदेखि बेपत्ता रहेका १५ वर्षीय अभिषेक सिंह ७ असोज बिहान घर नजिकैको आँप बगैँचामा मृत अवस्थामा फेला परे। शव फेला परेपछि गाउँभरि सनसनी फैलियो।

तालिमप्राप्त कुकुर (डग टोली) समेत प्रहरी टोली घटनास्थलमा तत्काल पुगेको थियो। डग टोली मृतकको हजुरबुबा विन्देश्वर सिंहको आँगनसम्म पसे पनि घरका अन्य सदस्यसम्म पुग्न सकेन। त्यस बेला विन्देश्वरका १७ वर्षीय छोरा पंकज छतमा बसेका थिए।

अभिषेक हराएपछि पंकज आफन्तसँगै खोजीमा सक्रिय देखिन्थे। तर डग टोली आउँदैछ भन्ने खबर पाउँदा उनी डराएर छतमा पुगे। शंका बढेपछि प्रहरीले पंकजसहित ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढायो।

‘घटना भएको बेलादेखि सँगै खोजिरहेका पंकज डग टोली देख्दा डराएर छतमा बसेका रहेछन्। प्रहरी आँगनसम्म पुगेपछि शंकाको आधारमा उनलाई पक्राउ गरिएको हो,’ अनुसन्धानमा संलग्न प्रहरीले बताए।

अनुसन्धानका क्रममा पंकजकै बयान, घटनास्थल र वरपर भेटिएका प्रमाणहरूले उनी नै मुख्य आरोपी भएको पुष्टि भएको छ। घटनामा प्रयोग भएको गम्छा, प्लास्टिकको ड्रम, मृतक र पंकजको मोबाइल बरामद गरिएको छ। सिरहाका एसपी अनन्त शर्माले भने, ‘दोषी पत्ता लागिसकेको छ। धेरै प्रमाण जुटिसकेका छन्। केही निष्कर्ष बाँकी छ, जुन पछि सार्वजनिक गरिनेछ।’

पंकजले आफ्नै योजनाबद्ध हत्या गरेको बयानमा स्वीकारेका छन्। घटनापूर्व उनले खेतमा खाल्डो खनेर प्लास्टिकको ड्रम तयारी अवस्थामा राखेका थिए। खेल्न जाने भन्दै अभिषेकलाई लगेर जिस्के जस्तो गरी दुवै हात गम्छाले बाँधे। अनि घाँटी थिचेर हत्या गरे। हत्या पछि पंकजले शव ड्रममा हालेर घोप्टो पारी ड्रमलाई खाल्टोमा हालेर माथिबाट माटो हालेर पुरे। त्यसै दिन राति पानि परेपछि ड्रम देखिन थाल्यो। त्यसपछि उनले शवलाई निकालेर आँपको वगैंचामा फालेर हिँडे।

हत्यामा आफनो संलग्नता नखुलोस भनेर उनी आफन्तसँगै खोजतलासमा हिँडे। अर्को दिन (६ असोज) बिहान, पंकजले अभिषेककी आमालाई इमोमार्फत पाँच करोड रुपैयाँ फिरौती माग्दै धम्कीपूर्ण सन्देश पठाए। सन्देशमा पैसा नदिए हत्या गर्ने चेतावनी थियो। पाँच करोड रुपैयाँ फिरौती माग्न प्रयोग गरिएको मोबाइल पनि पंकजको घरभित्र फेला परेको छ।

पंकजले बताएअनुसार, अभिषेकले आफूलाई ट्याक्टर चलाउन नदिँदा उनले हत्या गरेको हो। अभिषेक रेखादेवीका एक्ला छोरा थिए। करिब १० वर्षअघि उनका पिता सञ्जय सिंहको मोटर जडित कलमा करेन्ट लागेर मृत्यु भएको थियो। पैतृक सम्पत्ति भएकोले अभिषेक ट्याक्टरमार्फत खेतीपाती गर्दै थिए। छोराको मृत्युपछि आमा अचेत अवस्थामा रहेकी छन्।

मुख्य आरोपी पंकज मृतकका काका पर्छन। उनी विन्देश्वर सिंहका छोरा र लक्ष्मण महतोका कान्छा नाति हुन्। पंकजले घटना एक्लै गरेको स्वीकार गरे पनि अन्य व्यक्तिको संलग्नता हुनसक्ने अनुमान गर्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान अघि बढाएको छ।

अभिषेक परिवारको एक्लो छोरा र उनका नाममा करिब चार बिघा जमिन भएकाले सम्पत्ति हत्याको उद्देश्य हुनसक्ने आशंका गरिएको छ। पंकज नाबालक भएकाले सजाय कम पाउने रणनीति अन्तर्गत हत्या योजनाबद्ध नभएको जस्तो देखाउन खोजिएको पनि शंका गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट