जेनजी कमाण्डर सुदन गुरुङ भन्छन्ः हिंसा वा कसैको घरलाई निशाना बनाउनु समाधान होइन

काठमाडौँ – ‘हामी नेपाल’का अध्यक्ष तथा जेनजी आन्दोलनका कमाण्डर भनिएका सुदन गुरुङले हिंसात्मक गतिविधिहरू बन्द गर्न सार्वजनिक अपील गरेका छन्। गुरुङले फेसबुकमार्फत लेखेका छन् ‘कसैको घर वा सम्पत्ति निशाना बनाउनु कुनै समाधान होईन।’

आन्दोलनका नाममा संसद भवन, सिंहदरबार, बालुवाटार, शीतल निवास र सर्वोच्च अदालतलगायतका राष्ट्रिय धरोहरमा आगजनी र नेताका घरमा तोडफोड र आगो लगाएपछि उनको यस्तो अभिब्यक्ति आएको हो।

केही गतिविधिहरूले आन्दोलनको मूल उद्देश्यलाई ओझेलमा पार्ने जोखिम बढाएको भन्दै गुरुङले शान्तिपूर्ण मार्ग अपनाउन आग्रह गरेका छन्। उनले आफ्नो स्ट्याटसमा लेखेका छन्, ‘मलाई थाहा छ अहिले भावना तीव्र छ र धेरैलाई निराशा महसुस भइरहेको छ। तर हिंसा वा कसैको घरलाई निशाना बनाउनु समाधान होइन। यस्ता कार्यहरूले हाम्रो देशलाई अझ ठूलो क्षति पु¥याउन सक्छ र सकारात्मक परिवर्तनलाई ओझेलमा पार्न सक्छ।’

गुरुङले आगामी निर्वाचनलाई आन्दोलन देखाउने अवसरको रूपमा ब्याख्या गर्दै अनुशासित, शान्त र साहसी भएर त्यस दिनको तयारीमा ऊर्जा लगाउन अपील गरेका छन्। उनले भनेका छन्, ‘हाम्रो आन्दोलन आशाको हो, घृणाको होइन। निर्माणको हो, विनाशको होइन। सम्पूर्ण देशलाई देखाऔँ कि जेनजी क्रोधले होइन, बुद्धिमत्ताले नेतृत्व गर्न सक्छ।’

विश्लेषकहरूले गुरुङको यस्तो अभिव्यक्तिलाई आन्दोलनको हिंसात्मक स्वरूपलाई कम गर्ने र युवाहरूमाझ शान्तिपूर्ण राजनीतिक चेतना जगाउने संकेतको रूपमा लिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *