देशभर बाढीपहिरोको कहरः दुई दिनमै ४९ जनाको ज्यान गयो, सबैभन्दा बढी इलाममा मृत्यु

काठमाडौँ– शुक्रबार र शनिबारको लगातार वर्षासँगै देशभर बाढी र पहिरोले व्यापक क्षति पु¥याएको छ। नेपाल प्रहरीले दिएको पछिल्लो तथ्यांक अनुसार, अहिलेसम्म देशभर ४९ जनाले ज्यान गुमाइसकेका छन् भने कम्तीमा ७ जना बेपत्ता र २० भन्दा बढी घाइते भएका छन्।

सबैभन्दा ठूलो क्षति कोशी प्रदेशको इलाम जिल्लामा भएको छ। अविरल वर्षापछि आएको पहिरो र बाढीले घर, सडक र बस्ती बगाउँदा इलाममा ३७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। धेरै स्थानमा सम्पर्कविहीन क्षेत्रहरू अझै खुल्न नसकेका कारण मृतक र बेपत्ताको संख्या अझ बढ्ने आशंका गरिएको छ।

पाँचथरमा सवारी दुर्घटनामा ६ जनाको मृत्यु
पाँचथरमा वर्षाकै कारण सडक अवरुद्ध हुँदा सवारी दुर्घटना भई ६ जनाको मृत्यु भएको छ। स्थानीय प्रशासनका अनुसार पहिरोले सडकको एक भाग भत्किँदा बोलेरो गाडी दुर्घटनामा परेको थियो।

रौतहटमा बाढीले बस्ती डुबानमा पार्दा ३ जनाको मृत्यु भएको छ भने उदयपुरमा २ र खोटाङमा १ जनाको ज्यान गएको प्रहरीले जनाएको छ। कोशी प्रदेशका अन्य जिल्लामा पनि विभिन्न स्तरमा क्षति पुगेको विवरण आउन थालेका छन्।

सात जना बेपत्ता, बीसभन्दा बढी घाइते
सशस्त्र प्रहरी बल, नेपालका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार हालसम्म ७ जना बेपत्ता छन्। तीमध्ये इलाममा १, बारामा १, रसुवामा ४ र काठमाडौंमा १ जना छन्। उद्धार टोलीहरू निरन्तर खोज तथा उद्धार कार्यमा खटिएका छन्। घाइतेहरूको उपचार इलाम, धरान र विराटनगरस्थित अस्पतालमा भइरहेको छ।

लगातारको वर्षाका कारण धेरै स्थानमा सडक अवरुद्ध छन्, विजुली र सञ्चार सेवा पनि अवरुद्ध भएका छन्। सुरक्षा निकायले हवाई उद्धारको तयारी गरे पनि मौसम खराबीले कठिनाइ बढाएको छ। गृह मन्त्रालयले सबै प्रभावित जिल्लामा उद्धार तथा राहत कार्य तीव्र पार्न निर्देशन दिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै केही स्थानमा वर्षा जारी रहने भएकाले पहिरो र बाढीको जोखिम उच्च छ। पहाडी क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको छ।

बाढीपहिरोले मानवीय क्षति मात्र होइन, सडक, पुल, खेतीबाली र विद्युत् संरचनामा पनि ठूलो आर्थिक क्षति पु¥याएको अनुमान गरिएको छ। सरकार र स्थानीय निकायले आपतकालीन सहयोग र पुनःस्थापनाका लागि समन्वय सुरु गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट