‘वान म्यान आर्मी’ भन्दै जेनजी आन्दोलनमा प्रहरीसँग भिडेका युवाद्वारा घाँटी रेटेर आमाको हत्या

काठमाडौँ– जेनजी आन्दोलनका क्रममा अग्रभागमा रहेर ‘वान म्यान आर्मी हुँ’ भन्दै प्रहरीसँग जाई लागेका एक युवाले ५५ वर्षीया आमाको घाँटी रेटेर हत्या गरेका छन्। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका २७ वर्षीय यमबहादुर कँडेल (जिरे) ले आईतबार राति आमा राममाया कँडेलको हत्या गरेका हुन्।
यमबहादुर भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका भिडिओहरूमा निकै भाइरल भएका थिए। ‘मेरो आँखामा डर छ? ल हेर्नुस् म डराएको छु? म मलाई गोली हानेर मार्नुस्, म यो देश रोएको देख्न सक्दिन’ जस्ता डाइलग भिडिओमा बोलेका तीनै युवाले आमाको हत्या गरेर सिङ्गै गाउँलाई रुवाएका छन् ।
उनले आन्दोलनका दिन सुरक्षाकर्मीसँग भनेका थिए– ‘महिनामा एक लाखसम्म कमाउने युवा हो तर मलाई कहिलै पनि चैनको निद्रा लाग्दैन। सर मेरो आँखामा डर छ ? म बोलिराछु जान्न। ठोक्नुस् न मेरो छातीमा गोली ठोक्नुस्। मैले भनिराछु त मेरो आँखामा डर छ ? एक इन्च डर छ मेरो आँखामा ? डर छ सर ? (पटक–पटक दोहोर्याए ।) म वान म्यान आर्मी हो। भारतीय र अमेरिकी पुजीँवाद दलाल र यो देशका दलालसँग एक्लै लड्न सक्ने क्यापिसीटी छ मसँग। त्यसैले तपाँइहरू पनि बेलैमा जनताका लागि सोच्नुस्। तपाईँहरुको आफ्ना आमाबुबा र देशको बारेमा सोच्नुस्। ठोक्ने भए गोली ठोक्नू। मार्ने भए मार्नू आनन्द त आउँछ। देशको बारेमा सोच्नै परेन। मेरो आत्मा भगवानले लानु हुन्छ। जिउँदो भए त देशको चिन्ता र तपाईँको आत्माले गर्दा सुत्नै सक्दैन।’
यसरी रातारात भाइरल भएका तिनै युवाले आमाको हत्या गरेका छन्। स्थानीयका अनुसार उनी केही समयदेखि अस्वाभाविक व्यवहार गर्दै आएका थिए। हिजो साँझ घर पुगेपछि उनले आमासँग झगडा गरे र झगडाकै क्रममा धारिलो हतियार प्रयोग गरेर आमाको हत्या गरे। घटना घटेपछि उनी घरबाट भागेका थिए, तर केही घण्टामै प्रहरीले उनलाई पक्राउ गर्यो।
प्रहरीका अनुसार, यमबहादुर मानसिक रूपमा असन्तुलित देखिएका छन् र उनी पछिल्लो समय नजिकका मानिसहरूसँग समेत आक्रामक व्यवहार गर्दै आएका थिए। प्रहरीले घटनास्थलबाट रगतले लतपत हतियार र अन्य प्रमाण सङ्कलन गरेको छ। शवलाई पोस्टमार्टमका लागि धादिङ अस्पताल पुर्याइएको छ।
स्थानीयवासीका भनाइमा, यमबहादुर लामो समय भारतमा मजदुरी गरेर फर्केका थिए। फर्किएपछि उनी कुनै निश्चित काममा थिएनन् र प्रायः घरमा बसेर एक्लै बोल्ने, रुन थालेका थिए। परिवारका सदस्यले पनि उनको उपचार गराउने प्रयास नगरेको देखिएको छ। आमाको हत्यापछि गाउँमा शोक र भय फैलिएको छ।
प्रहरीका अनुसार उनीविरुद्ध यसअघि पनि प्रहरीमा विभिन्न मुद्दा चलेको अनुसन्धानका क्रममा देखिएको छ। प्रहरीको सीडीआर रिपोर्ट हेर्दा २०६९ सालमा उनीविरुद्ध सार्वजनिक मुद्दा चलेको थियो।
प्रहरी अधिकारीका अुनसार, यस्ता खालका विभत्स हत्या भएका घटनाहरू यसअघि कमै भेटिएका छन्। ‘मैले अहिलेसम्म यस्ता खालका घटनाहरू एकदमै कम देखेको छु’ एक प्रहरी अधिकारी भन्छन्–‘यस्ता विभत्स घटना कमै मात्र घट्छन्।’ उनलाई अहिले प्रहरीले हिरासतमा राखेको छ। सामाजिक सञ्जालमा अहिले उनको पुरानो भिडियो पुनः भाइरल हुँदै गएको छ।