बर्दियामा १० वर्षीया एन्जलको रहस्यमय मृत्यु: बलात्कारपछि हत्या गरिएको प्रारम्भिक आशंका

काठमाडौँ– बर्दियाको गेरुवा गाउँपालिका–५ झबहीकी १० वर्षीया बालिका एन्जल भनिने भारती देउवाको शव गुडीखोलाको किनारमा पुरिएको अवस्थामा फेला परेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा बलात्कारपछि हत्या गरिएको सम्भावना देखाएको छ।
ईलाका प्रहरी कार्यालय बर्दियाका डीएसपी कविन्द्रसिंह बोहराका अनुसार एन्जल असोज १७ गते बर्दियाको गणेशपुरस्थित आफन्तको घरमा बिहेभोज खान गएकी थिइन्। बिहेमा सहभागी भएपछि उनी ‘कपडा फेर्न साइकलमा झबही फर्किँदै छु’ भन्दै घरतर्फ निस्किएकी थिइन्।
तर रातिसम्म उनी घर नफर्केपछि परिवारले चिन्ता व्यक्त गर्दै प्रहरीमा जानकारी दिएका थिए। सोही दिन राति सवा ९ बजे परिवार र आफन्तले प्रहरीलाई खबर गरेपछि खोजतलास सुरु गरिएको थियो। प्रहरीले असोज १८ गते बिहान गुडीखोला आसपासको क्षेत्रमा खोजतलास गर्दा एन्जलले प्रयोग गर्ने साइकल र चप्पल फेला पारेको थियो।
यी वस्तु फेला परेपछि प्रहरीले तत्काल घटनालाई शंकास्पद मानेर बालिकाको खोजीलाई थप तिव्र बनायो। तीन दिनसम्म निरन्तर खोजतालस गर्दा असोज २० गते बिहान गुडीखोलाको किनारमा बालुवाले छोपेको अवस्थामा बालिकाको शव भेटिएको हो।
डीएसपी बोहराका अनुसार शव घोप्टो र पुरै नग्न अवस्थामा भेटिएको थियो। शवमाथि उनले लगाएका कपडाहरू राखिएका थिए। घटनास्थल हेर्दा नियोजित देखिएको उनले बताए। ‘एन्जलको हत्या गरेर शव खोलामा गाडिएकोमा कुनै शंका छैन,’ डीएसपी बोहराले भने, ‘हामी हत्याराको पहिचान र पक्राउमा केन्द्रित भएका छौं।’
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार शवको अवस्था र भेटिएको स्थानले घटनालाई साधारण हत्या नभई बलात्कारपछि गरिएको अपराध देखाउँछ। ‘शवको प्रकृति हेर्दा उनको बलात्कारपछि हत्या गरी अपराध लुकाउन खोलामा गाडिएको सम्भावना प्रष्ट देखिन्छ,’ ती अधिकारीले भने।
यसै शंकाका आधारमा प्रहरीले वरपरका व्यक्तिहरूको बयान लिँदै घटनास्थलबाट संकलित भौतिक प्रमाण (बालुवा, कपडा, शरीरको नमूना) प्रयोगशाला परीक्षणका लागि पठाएको छ। एन्जलको शव नेपालगञ्जस्थित भेरी अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको छ। प्रहरीका अनुसार मेडिकल रिपोर्टपछि घटनाको वास्तविक कारण स्पष्ट हुनेछ।
बर्दिया प्रहरीले घटनाको छानबिनका लागि विशेष टोली गठन गरेको छ। आसपासका गाउँहरूमा बस्ने सबै शंकास्पद व्यक्तिको विवरण संकलन गरिएको र केहीलाई नियन्त्रणमा लिइएको बताइएको छ।
एन्जलको शव फेला परेपछि झबही र वरपरका गाउँका बासिन्दा शोकाकुल बनेका छन्। स्थानीयहरूले तत्काल हत्यारालाई पक्राउ गरी कडा सजायको माग गर्दै गाउँमा विरोध प्रदर्शन सुरु गरेका छन्। ‘हाम्रो गाउँमा यस्तो घटना कहिल्यै भएको थिएन, अब हामी छोरीहरूको सुरक्षाबारे डराएका छौं,’ एक स्थानीय महिलाले भनिन्।
प्रहरीले घटनाबारे कुनै पनि सूचना वा शंका हुने नागरिकले तुरुन्त प्रहरीलाई जानकारी दिन अपील गरेको छ। ‘यो घटना अत्यन्त संवेदनशील छ, हाम्रो प्राथमिकता अपराधीलाई चाँडै पक्राउ गरी पीडित परिवारलाई न्याय दिलाउने हो,’ डीएसपी बोहराले भने।