झुम्का कारागारमा जन्मकैदको सजाय काट्दै गरेका फरार कैदी उदयपुरमा मृत भेटिए

गाईघाट— भदौ २४ गतेको ‘जेनजी आन्दोलन’ले देशका विभिन्न भागमा कानुनी शासन र सुरक्षात्मक संयन्त्रमा गम्भीर प्रश्न उठाएको छ। सोही दिन झुम्का कारागारबाट फरार भएका एक जन्मकैदी मंगलबार आफ्नै गाउँमा मृत भेटिएका छन्।

त्रियुगा नगरपालिका–८ शाहीखोला राजाबास निवासी ३५ वर्षीय गम्भीरबहादुर दनुवार मंगलबार दिउँसो घर नजिकैको सिसौको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी केदारमान दोङका अनुसार शवलाई कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई बुझाइएको छ।

दनुवारलाई सुनसरी जिल्ला अदालतले २०७७ चैत १३ गते कर्तव्य ज्यान मुद्दामा जन्मकैदको फैसला सुनाएको थियो। उनी सोही मुद्दामा झुम्का कारागारमा कैद सजाय काटिरहेका थिए। तर भदौ २४ गते ‘जेनजी आन्दोलन’का क्रममा भएको कारागार तोडफोडबीच उनी समेत फरार भएका थिए।

आन्दोलनकै क्रममा स्वतन्त्र जिवन जिउन भागेका दनुवारको जीवन एक महिनामै अन्त्यमा पुग्यो। उनी घर पुगेपछि स्थानीयसँग खास सम्पर्कमा थिएनन्। मंगलबार दिउँसो गाउँलेहरूले रुखमा झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरिएको थियो।

डीएसपी दोङका अनुसार, घटनाको कारण पुष्टि हुन बाँकी छ, आत्महत्याको शंका गरिएको छ तर अनुसन्धान जारी छ।

जेनजी आन्दोलनका क्रममा जेल तोडफोड र कैदी उद्धारका घटना देशका विभिन्न ठाउँमा भएको प्रहरी स्रोत बताउँछ। उदयपुरको यो घटना त्यसैको पछिल्लो उदाहरण हो। सुरक्षास्रोतका अनुसार, फरार कैदीहरू मध्ये धेरैको अवस्था अझै अज्ञात छ। केही पुनः पक्राउ परेका छन् भने देशभरत ५ हजारभन्दा वढि अझै फरार छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट