मलेसियामा हर्टएट्याक भएर उत्तिम महतोको मृत्युः ५ छोरी र श्रीमतीको विचल्ली

काठमाडौँ — रौतहट देवाही गोनाही नगरपालिका–८ का ३५ वर्षीय उत्तिम महतो आफ्ना छोरीहरूको उज्ज्वल भविष्य बनाउने सपना लिएर वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए। दशक लामो कठिन परिश्रमपछि सन २०१९ मा नेपाल फर्किए। तर, फेरी मलेसिया फर्किएका उनको १ अक्टोबर २०२५ (१५ असोज) मा हृदयाघातका कारण उतै मृत्यु भयो।

मलेसियाबाट फर्किएर ५ छोरी र श्रीमतीसँग जीवन बिताउने उनको सपना अधुरो भएको छ। महतो धेरै धार्मिक प्रवृत्तिका थिए, रक्सी, चुरोट, खैनी केही पनि सेवन गर्दैनथे। मृत्यु हुनु अघि उनले छाती दुखेको अनुभव गरे। नजिकैको निजी क्लिनिक गए, जहाँ ठूलो अस्पतालमा जान सल्लाह दिइयो। क्लिनिकले दिएको सिफारिस लिएर अस्पताल पु¥याए, तर करिब एक घण्टामै चिकित्सकले उनलाई मृत घोषणा गरिदिए।

उनको मृत्युपछि परिवारमा शोकको वातावरण छ। श्रीमती अचेत भएर घरमै छिन्। वुवाको मृत्यु आमाको वेहोसी अवस्थाले पाँच छोरीहरू अभिभावक विहिन भएका छन्। ‘परिवारको आर्थिक अवस्था कमजोर छ। जग्गा छैन, दाइ नै परिवारको एक मात्र कमाउने स्रोत थिए। विदेशी भूमिबाट पठाइएको पैसाले मात्र घरको गुजारा चलेको थियो, तर अब त्यो जीवनरेखा टुटेको छ।’– कान्छा भाइ रामबालकले भने।

महतोको शव नेपाल ल्याउन जनउद्धार केन्द्र मलेसियाले पहल गरेको थियो। कम्पनी, नेपाली दूतावास र स्थानीय संघसंस्थासँग समन्वय गरेर शव नेपाल पठाइएको छ। खर्च झन्डै ४–६ हजार रिंगिट (करिव डेढदेखि २ लाख रुपैयाँ), जसको व्यवस्थापन कम्पनीले गरेको थियो।

मलेसियामा नेपाली श्रमिकहरूको स्वास्थ्य अवस्था पनि चिन्ताजनक छ। लगातार काम, अत्यधिक गर्मी, पानीको कमी र शरीरमा थकानले हृदयाघात र स्ट्रोकको जोखिम बढाएको छ। कोभिड–१९ पछि लागू एपोइन्टमेन्ट प्रणालीले आपतकालीन अवस्थामा तुरुन्त उपचार पाउन असम्भव बनाएको छ। मलेसियामा मासिक ३०–४० नेपालीको मृत्यु हुन्छ। यो दर बढ्दो क्रममा छ। गत आर्थिक वर्ष ३२७ शव ल्याइएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट