जेनजी आक्रमणमा घाइते देउवा दम्पति सिंगापुर पुगेः एयरपोर्टमा किन प्रयोग गरे ह्विल चियर ?

काठमाडौँ— जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका कांग्रेस सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर पुगेका छन्। देउवा आफ्नी पत्नी र पार्टी केन्द्रीय सदस्य डा. आरजु राणाको साथमा शुक्रबार राति चांगी अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

विमानस्थलमा उनीहरू ह्विलचियरमा बाहिरिँदै देखिएका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्। सामाजिक सञ्जालमा देखिएका तस्बिरमा देउवा–आरजु ह्विलचियरमा सँगै देखिएका छन्। विमानस्थलमा देखिएका यी दृश्यहरूले देउवाको स्वास्थ्य अवस्थाबारे आमजनमा चासो थपेको छ।

सिंगापुरमा देउवाको उपचार कति समयसम्म हुनेछ भन्ने विवरण अझै खुलाइएको छैन। तर पार्टी र परिवारले उनका स्वास्थ्य स्थिति र उपचार प्रक्रियामा गोपनीयता कायम राख्ने प्रयास गरिरहेका छन्।

भदौ २४ गतेको जेनजी प्रदर्शनमा धारिलो हतियारबाट घाइते भएका देउवाको टाउकोको पछाडिको भागमा तत्काल १२ टाँका लगाइएको थियो। लामो समयसम्म छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको थियो।

असोज १८ गते देउवा पार्टी केन्द्रीय समिति बैठकमा छोटो समय उपस्थित भई उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मेवारी दिएका थिए। पार्टी नेताहरूका अनुसार देउवाले स्वास्थ्यका कारण कार्यवाहक जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने स्थिति थियो।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै देउवाले चिकित्सकको सल्लाह अनुसार थप उपचारका लागि विदेश गएको जानकारी दिएका छन्। कांग्रेसले सभापति देउवाको पूर्ण स्वास्थ्यलाभको कामना समेत गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट