गगन थापा लक्षित शंकर पोखरेलको टिप्पणीः अपराधिक जत्थाको विरोध गर्न नसक्नेले एमालेको नाम जोड्न थाले

काठमाडौँ— नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनमा लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जत्थाको विरोध गर्न नसक्नेले अहिले एमालेको नाम जोड्न थालेको भन्दै कांग्रेस महामन्त्री गगन थापा लक्षित टिप्पणी गरेका छन्।

पोखरेलले फेसबुकमा स्ट्याटसमार्फत लेखेका छन्, ‘लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जत्थाको विरोध गर्न नसक्नेहरूले अहिले एमालेको नाम जोड्न थालेछन्। राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही भए पनि सबैलाई कडा कारबाही गरौँ। देश जलिरहेको बेला आरोप–प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौँ।’

केही दिनअघि महामन्त्री थापाले एक अन्तर्वार्तामा आफ्नो घरमा भएको लुटपाट र आगजनीका घटनामा एमालेका कार्यकर्ता संलग्न भएको दावी गरेका थिए। त्यसमा पनि अध्यक्ष केपी ओलीसँग पहुँच भएकै कार्यकर्ता आगो लगाउन आएको उनको दाबी थियो।

पोखरेलका अनुसार, थापाले आपराधिक क्रियाकलापको विरोध नगरी एमालेमाथि आरोप लगाउन खोजेका छन्। पोखरेलले राष्ट्रिय सुरक्षा र कानूनी प्रक्रिया दुवैको महत्व औँल्याउँदै, राष्ट्रद्रोही हिंसात्मक गतिविधिमा संलग्न जो कोही भए पनि कानूनी रूपमा कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।

उनका अनुसार, देशमा अशान्ति फैलिएर नागरिकमा डर र अविश्वास पैदा हुने बेला राजनीतिक आरोप–प्रत्यारोपभन्दा सत्य र न्यायको पक्षमा उभिनु आवश्यक छ।

सामाजिक सञ्जालमा पोखरेलको स्ट्याटसले एमाले–कांग्रेसबीचको आरोप–प्रत्यारोपको लहर अझ तातो भएको छ। राजनीतिक विश्लेषकहरूले यसलाई जेन–जी आन्दोलनपछि जारी राजनीतिक तनावको अर्को संकेतका रूपमा व्याख्या गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट