जेन–जी आन्दोलनमा वितण्डा मच्चाउने समूहका ‘कमाण्डर’ पूर्व सैनिक पक्राउ, सुरक्षा निकायको अनुशासनमा प्रश्न
काठमाडौँ — २४ भदौको जेन–जी आन्दोलनमा काठमाडौँ उपत्यकामा तोडफोड, आगजनी र लुटपाटमा संलग्न एक व्यक्ति पूर्व नेपाली सेनाका जवान भएको खुलेको छ। कञ्चनपुर, बेलौरी नगरपालिका–१ घर भई काठमाडौँको धापासी, कृष्ण मन्दिरमा बस्दै आएका पूर्व जवान २७ वर्षीय भुवन शाहीलाई प्रहरीले पक्राउ गरेको छ।
शाही सोमबार मिनभवन क्षेत्रबाट पक्राउ परेका हुन। उनको साथबाट प्रहरीको मोटरसाइकल, रायट कन्ट्रोल गियर, कलेजका ट्रफी, गणेशको मूर्ति र क्यानन कम्पनीको डीएसएलआर क्यामेरा वरामद भएको छ। सीसीटीभी फुटेज र अनुसन्धान अनुसार शाहीले ग्लोबल कलेज, प्रहरी वृत्त गौशाला र आसपास क्षेत्रमा हिंसात्मक गतिविधि सञ्चालन गरेको पुष्टि भएको छ।
शाही २०७४ मा नेपाली सेनामा प्रवेश गरेका थिए, तर नक्कली चालक अनुमति पत्र पेश गरेको खुलेपछि २०७५ मा बर्खास्त भए। पूर्वसैनिकको रूपमा उनी हिंसात्मक समूहको ‘कमाण्डर’को रूपमा सक्रिय हुनुले सुरक्षा निकायको निगरानी र अनुशासनमा ठुलो प्रश्न चिन्ह खडा भएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दानबहादुर कार्कीका अनुसार शाहीको पक्राउ अनुसन्धानको महत्वपूर्ण चरण हो। तर पूर्वसैनिकको नेतृत्वमा हिंसात्मक गतिविधि संचालन हुनु सुरक्षा व्यवस्थाको असफलता पनि हो।
यस घटनाले नागरिकको सुरक्षा जोखिममा पारेर हिंसात्मक समूहको संगठित गतिविधिलाई देखाएको छ। विश्लेषकहरूका अनुसार पूर्वसैनिक शाहीको संलग्नताले जेन–जी आन्दोलनमा उद्दण्ड र संगठित हिंसा भएको देखाउँछ र भविष्यमा सामाजिक अशान्ति, सम्पत्ति क्षति र सुरक्षा चुनौती अझ गहिरो हुने संकेत गर्दछ।
