रौतहट बम विस्फोट घट्नामा सफाई पाएका पूर्वमन्त्री आफ्ताब आलम आईसीयूमाः मिर्गौला सङ्क्रमणपछि अवस्था गम्भीर
काठमाडौँ— नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। मिर्गौला सङ्क्रमण र मस्तिष्कघात (स्ट्रोक) एकैसाथ देखिएपछि उनलाई अहिले सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखी उपचार भइरहेको छ।
लामो समयदेखि मिर्गौलाको समस्या भोग्दै आएका आलम नियमित रूपमा डायलाइसिस गर्दै आएका थिए। मिर्गौलामा संक्रमण बढेपछि उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो। चिकित्सकको निगरानीमा उनको उपचार भइरहेको छ।
यसअघि उनलाई मस्तिष्कघात भएको थियो। त्यसपछि उनलाई तत्कालै माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल लगिएको थियो। एमआरआई रिपोर्टमा ‘एक्युट स्ट्रोक’ पुष्टि भएको थियो। चिकित्सकहरुका अनुसार उनी मधुमेह र उच्च रक्तचापका पुराना बिरामी हुन् र ती समस्या नै हालको अवस्थाको कारण बन्न पुगेका हुन्।
आलमको स्वास्थ्य जटिल बन्दै जाँदा उनको नाम फेरि एकपटक राजनीतिक र कानुनी विवादबीचको केन्द्रमा परेको छ। आलमलाई गत जेठमा उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले २०६४ सालमा रौतहटमा भएको बम विस्फोट र त्यसपछि घाइतेलाई इँटाभट्टामा जलाएर मारेको ज्यान मुद्दामा सफाइ दिएको थियो।
उच्च अदालतको संयुक्त इजलासले आलमसहित चार जनालाई सफाइ दिएको थियो। अदालतले बम विस्फोट नभएको र घटनामा कुनै घाइते वा मृतक नभएको निष्कर्ष निकालेको थियो। त्यसअघि जिल्ला अदालतले भने आलमलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो।
उक्त सफाइ फैसलापछि आलम जेलमुक्त भएका थिए। महान्यायाधिवक्ताको कार्यालयले भने प्रारम्भिक मस्यौदामा अदालतले प्रमाणहरूलाई पर्याप्त रूपमा मूल्यांकन नगरी सफाइ दिएको ठहर गरिएको बताएको थियो।
मस्यौदामा प्रत्यक्षदर्शीका बयान, भारतको सितामढीका गौरीशंकर राम चमारको साक्ष्य, मेडिकल रिपोर्ट र घटनास्थलमा भेटिएका प्रमाणहरूलाई बेवास्ता गरिएको उल्लेख छ। फैसलापछि सफाइ दिने दुवै न्यायाधीशमाथि न्याय परिषद्ले छानबिन पनि थालेको थियो।

