सप्तरीको छिन्नमस्तामा झाडापखालाले एकै परिवारका ३ जनाको मृत्यु, गाउँमा त्रास
राजविराज– सप्तरीको छिन्नमस्ता गाउँपालिका–५, लोखरमको मुसहरी टोलमा १५ दिनभित्र एकै परिवारका ३ जनाको झाडापखालाका कारण मृत्यु भएको छ। यो घट्नापछि गाउँलेहरु आत्तिएका छन्।
मृतकमध्ये ३० वर्षीय बुचन सदाका ६६ वर्षीय बुबा लक्ष्मण सदा, बुचनकी छोरी चार वर्षीया रागिनी र छोरा एक वर्षीय सञ्जीव छन्। स्थानीय बासिन्दाका अनुसार तीनै जनामा अत्यधिक ज्वरो, लगातार पखाला र कमजोरी देखिएको थियो। तर समयमै स्वास्थ्य उपचार नपाउँदा उनीहरूको ज्यान गएको छ।
मृतकहरूको परिवारमा हाल बुचनकी श्रीमती पनि झाडापखालाबाट पीडित भई अस्पतालमा उपचाररत छन्। शुक्रवार राति झाडापखलाले सिकिस्त भएपछि रागिनीलाई राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो। तर, उनको बाटोमै मृत्यु भएको वुचनका भाई देवेन्द्र सदाले वताए।
बुबा लक्ष्मणको दुई साताअघि र छोरा सन्जिवको त्यसपछि मृत्यु भएको उनको भनाई छ। गाउँमा झाडापखालाका थप बिरामी पनि देखिन थालेका छन्। हालसम्म १५ जनाभन्दा बढीमा रोगका लक्षण देखा परेका छन्।
गाउँपालिकाका स्वास्थ्य संयोजक दिपेन्द्र यादवले बताएअनुसार, स्वास्थ्य चौकीमा समयमै समस्या रिपोर्ट भएन। तर, जानकारी पाउनासाथ टोली खटेको उनले वताए। वडाध्यक्ष जयप्रकाश ठाकुरका अनुसार समयमै समस्या नवताएका कारण अनाहकमा तीन जनाको ज्यान गएको वताए।
‘बस्तीका मानिसहरू प्रायः बिरामी परे पनि घरमै लुकाउने गर्छन्, समयमा खवर गर्दैनन। जसले समस्या झन् जटिल बनाएको छ। समस्या वाहिर आएपछि स्वास्थ्यकर्मीलाई खटाएर औषधि वितरण सुरु गरेका छौं।’– उनले भने।
जनस्वास्थ्य विज्ञहरूका अनुसार दूषित खानेपानी, बर्खायामको फोहोर पानी र सरसफाइको अभावले रोग फैलिएको हुन सक्ने जोखिम छ। तत्काल प्रभावित क्षेत्रमा स्वाब परीक्षण र सरसफाइ अभियान आवश्यक रहेको उनिहरु बताउँछन्।
यो घट्नापछि बस्तीमा त्रास, पीडा र स्वास्थ्य संकट एकैसाथ फैलिएर समुदाय तनावग्रस्त बनेको छ। यो घटना स्थानीय सरकार र जनस्वास्थ्य निकायलाई पनि सतर्क हुन बाध्य बनाएको छ। तर बस्तीमा अझै पनि खानेपानीको परीक्षण र रोगको कारण पत्ता लगाउने कार्य सुरु हुन सकेको छैन।

