धनुषामा बसले अटोलाई ठक्कर दिँदा एकै परिवार तीनसहित ४ जनाको मृत्यु, बाबुआमा गुमाएका दुई बालकको अवस्था गम्भिर
जनकपुर— पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको वीरेन्द्र बजारमा शनिबार साँझ भएको भीषण सडक दुर्घटनामा एउटा परिवार उजाड भएको छ। विराटनगरबाट धनगढीतर्फ जाँदै गरेको यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको अटोरिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीन सदस्यसहित चार जनाको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा आमाबुबा नै गुमाएका दुई बालबालिकाको गम्भीर अवस्थामा जनकपुरस्थित न्युरो अस्पतालमा उपचार भईरहेको छ। प्रहरीका अनुसार शनिबार साँझ करिब ७ बजेतिर सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३२८८ नम्बरको यात्रुबाहक बसले प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोलाई जोरदार ठक्कर दिएको थियो।
ठक्करको आवाज यति भयावह थियो कि आसपासका घरका झ्याल–ढोका काँपिएका थिए। स्थानीय बासिन्दा हरिराम यादवले भने, ‘हामी बाहिर निस्कँदासम्म अटो टुक्रा–टुक्रा भइसकेको थियो। सडकमाथि रगतले कालो डाम बनेको थियो।’
दुर्घटनामा ज्यान गुमाउनेहरूमा अटोरिक्सा चालक ४० वर्षीय डम्बर राई, ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर र ३५ वर्षीया निशा मगर रहेका छन्। उनीहरू सबै गणेशमान चारनाथ नगरपालिका–१ भरतपुरका बासिन्दा हुन्।
प्रहरीका अनुसार धनबहादुर, शम्भु र निशा एउटै परिवारका सदस्य हुन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको थियो। स्थानीयहरूले बताएअनुसार, परिवार बजारबाट घर फर्किँदै थियो, तर घर पुग्नुअघि नै सारा परिवार समाप्त भयो।
मृतक निशा र शम्भुका बालक छोराहरु १४ वर्षका शीतल र ९ वर्षका रोशन गम्भीर घाइते भएका छन्। दुबैलाई जनकपुरस्थित न्युरो अस्पतालमा भर्ना गरिएको छ। प्रहरी निरीक्षक लक्ष्मण तोसीका अनुसार, ‘दुवै बालकको अवस्था गम्भीर छ। चिकित्सकले निरन्तर उपचार गरिरहेका छन्।’ बालकहरूलाई आमाबुबा गुमाएको कुरा अहिलेसम्म बताइएको छैन।
बस चालक लखिराम दनुवार थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी गणेश बहादुर बमका अनुसार, बस तिव्र गतिमा थियो र विपरीत लेनमा गएको प्रारम्भिक अनुमान छ। ‘चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको छ,’ उनले भने।
मृतकहरूका शव जनकपुरस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको छ। अस्पताल परिसरमा रोदन र करुण दृश्य छाएको छ। पूर्व–पश्चिम राजमार्गमा पछिल्ला दिनमा दुर्घटनाहरू क्रमशः बढिरहेका छन्।

