बालेन्द्रको अश्लील स्टाटसले राजनीतिमा भुँईचालोः मन्त्रीदेखि गायिका ज्योति मगरसम्मले गरे आलोचना
काठमाडौँ— काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ फेरि विवादको केन्द्रमा आएका छन्। राजनीतिक दलहरूलाई गालीगर्छु भन्दै उनले प्रयोग गरेको अश्लील शब्द अहिले देशभर राजनीतिक र सामाजिक बहसको केन्द्र बनेको छ।
गएराति फेसबुकमा बालेनले अमेरिका, भारत र चीनसँगै नेपालका प्रमुख राजनीतिक दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र माओवादी केन्द्र सबैलाई एउटै लहरमा राखी अंग्रेजीमा एउटै अश्लील शब्द प्रयोग गर्दै स्टाटस लेखेका थिए।
स्टाटस सार्वजनिक भएको केही मिनेटमै आलोचनाको बाढी आएपछि उनले त्यसलाई हटाए पनि ढिलो भइसकेको थियो। त्यसको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भयो र त्यसपछि सुरु भयो ‘बालेनविरुद्धको राजनीतिक आक्रोश’।
अब बालेनमाथि आक्रोश राजनीतिक नेतासँगै कलाकारहरूबाट पनि आइरहेको छ। गायिका ज्योति मगरले फेसबुकमार्फत बालेनमाथि कडा व्यङ्ग्य गरेकी छन्। उनले लेखेकी छन्, ‘गरिबको चमेली बोल्दिने कोइ छैन भन्दै गरिबहरुको ठेला उठाउनुभो, म नेपाल हासेको हेर्न चाहन्छु भन्दै जेन्जी उक्साएर सर्लक्कै देश जलाउनु भो…। जुन जुन शक्तिको आडमा फिल्मी स्टाइलमा बितन्डा मच्चाउनु भो त्यही शक्तीहरु ले थेचार्न थालेपछिको असन्तुष्टि छर्लङ्ग…।
‘रातको १२ बजे मुख छोड्दा हुने फाइदा– भडास डिटक्स, कुनै शक्तिबाट परिचालित छैन भन्ने प्रमाण, सुठ्ठाको क्वालिटी पर्फेक्ट भयको प्रमाण’ उनले अगाडि थपेकी छिन्– ‘खास बुढी मार्न खोजेको काल पल्क्यो ब्रो…। धन्न सु सु गर्न उठेको भाउजूले आधा घण्टा मै थाहा पायर डिलेट गर्न लाउनु भो नत्र कति धेरै भिउज, लाइक, कमेन्टहरु आउथ्यो…।’
ज्योतिका ती वाक्यहरूले सामाजिक सञ्जालमा थप हलचल ल्याएको छ। धेरैले उनलाई ‘सिधा तर निडर’ टिप्पणी गरेको भन्दै समर्थन पनि जनाएका छन्।
त्यति मात्र होइन, मन्त्रीदेखि राजनीतिक नेतासम्मले बालेनमाथि ‘गाँजा तानेर स्टाटस लेखेको’ आरोप लगाएका छन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले अप्रत्यक्ष रूपमा लेखेका छन्, ‘केही आशालाग्दा अभियन्ताहरूले सर्को तानेर बोलेको र लेखेको जस्तो लाग्छ। सर्को ताने पनि केही छैन, तर त्यतिबेला केही नबोल्न र नलेख्न अनुरोध छ।’
एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले त झनै कडा आरोप लगाउँदै बालेनलाई ‘गाँजाको अम्मली’ नै भनेका छन्। राजनीतिक पक्षबाट एमाले नेता विष्णु रिजालले बालेनलाई ‘देशमाथि खतरा’ भन्दै तत्काल पक्राउ गर्न माग गरेका छन्। उनले लेखेका छन्, ‘बालेन साहले हद नाघ्दै गएका छन् र देशमाथि खतरा बनेका छन्। नेपालमा गाँजा प्रतिबन्धित छ। गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबार जलाउने मतियार बालेनलाई अविलम्ब गिरफ्तार गर्नुपर्छ, नत्र अराजकता र मुठभेड बढ्छ।’
त्यस्तै, एमालेका उपमहासचिव विष्णु रिमाल र सांसद महेश बस्नेतलगायतले पनि उनलाई ‘मनोवैज्ञानिक रूपमा असन्तुलित’ भन्दै कडा आलोचना गरेका छन्। तर, बालेनमाथि सबै प्रहार मात्रै भइरहेका छैनन्। सामाजिक सञ्जालमा उनको समर्थनमा युवा पुस्ताको ठूलो समूह उभिएको छ। धेरैले लेखेका छन् — ‘बालेनले सत्य बोले, अश्लील शब्द प्रयोग गल्ती हो तर त्यसको कारण हाम्रो राजनीतिक व्यवस्था नै हो।’
कसैले त लेखेका छन्, ‘राजनीतिक दलहरूले देशलाई अश्लील बनाएका छन्, बालेनको शब्द मात्र त्यसको प्रतिबिम्ब हो।’ बालेन साह बारम्बार फेसबुक स्टाटसका कारण विवादमा पर्ने नेताका रूपमा परिचित छन्। यसअघि पनि उनले प्रधानमन्त्रीदेखि सांसदसम्ममाथि व्यङ्ग्यात्मक शैलीमा आक्रमण गरेका थिए। तर यस पटकको विवाद केवल राजनीतिक नभई शिष्टाचार र सार्वजनिक आचरणसँग जोडिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार यो घटना ‘जनताको असन्तोषको असंयम अभिव्यक्ति’ र ‘राजनीतिक प्रणालीमाथिको तिखो अस्वीकार’ दुवै हो।


