टीओबी समूहका तेन्जिन दावा प्रहरी अनुशन्धानको केन्द्रविन्दुमा, लागुऔषधदेखि हिंसात्मक उपद्रवसम्मको तीनवटा मुद्दा
काठमाडौँ— जेनजी आन्दोलनलाई हिंसात्मक वनाउन भूमिका खेलेको आरोप लागेका ‘तिब्बतियन ओरिजिनल ब्लड (टीओबी)’ समूहका सदस्य तेन्जिन दावा लामा अहिले प्रहरी अनुसन्धानको केन्द्रबिन्दुमा छन्।
असोज २६ गते बिजुलीबजारको पुलमा पेस्तोलसहितको फोटो र भिडिओ सार्वजनिक भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। फोटो पुरानो र पेस्तोल नक्कली भएको पुष्टि भएपछि सुरुमा उनलाई अभद्र व्यवहारको मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको थियो।
तर अनुसन्धान अघि बढ्दै जाँदा तेन्जिनको कोठाबाट लागुऔषध बरामद भएको र उनका नागरिकता तथा जन्मदर्ता प्रमाण पत्र पनि नक्कली देखिएपछि उनलाई तीन नयाँ मुद्दामा पनि अनुसन्धानको दायरामा ल्याईएको छ। यसअनुसार उनले अब लागुऔषध कारोबार÷प्रयोग, लिखत किर्ते र आपराधिक उपद्रवमा पनि अनुसन्धानको सामना गर्नु पर्ने भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतका अनुसार, सुरुमा अन्य प्रमाण नभएकोले केवल अभद्र व्यवहारमा म्याद लिइएको थियो। तर लागुऔषध बरामद र जन्मदर्ता तथा नागरिकता पनि शंकास्पद देखिएपछि नयाँ मुद्दा थपिएको हो।
नागरिकताको विवरण माग गर्दै प्रहरीले सम्बन्धित वडा कार्यालयसँग पत्राचार गरे पनि त्यसको जवाफमा ‘उक्त व्यक्ति रेकर्डमा नभएको’ आएको छ। प्रहरीको दाबी अनुसार, टीओबी समूहले भदौ २३ को शान्तिपूर्ण जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन सक्रिय भूमिका खेलेको थियो। उनीहरू मोटरसाइकलसहित ठूलो संख्यामा भिड परिचालन गरेर निषेधित क्षेत्र तोडेका थिए र भिडलाई उक्साउने काममा संलग्न देखिएका थिए।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा उनीहरूले ‘तिब्बतियन ओरिजिनल ब्लड’ लेखिएको ज्याकेट लगाएको देखिन्छ। जेनजी आन्दोलनको हिंसात्मक गतिविधिमा संलग्न रहेको आरोपमा हालसम्म २५० भन्दा बढी व्यक्तिहरू पक्राउ भइसकेका छन्। तीमध्ये केहीलाई पुरा अनुसन्धानपछि कारागार चलान गरिएको छ। तेन्जिन दावा लामा अहिले काठमाडौं प्रहरी परिसरको हिरासतमा छन् र लागुऔषध, लिखत किर्ते र आपराधिक उपद्रवको मुद्दामा अनुसन्धान जारी छ।

