‘सीताराम’ लेखेको पिताम्बर ओढेर गोरखाको सरस्वती आश्रममा लुकेका थिए काठमाडौबाट भागेका निकोलस

काठमाडौं– तीन दिनदेखि फरार रहेका जेनजीका विवादित अगुवा डा. निकोलस भुसाल मंगलबार अचानक फेसवुक लाइभमा देखा परे। उनले ४४ मिनेट लामो लाइभमा ध्यान जप्दै रुद्राक्षको माला लगाएका देखिए। भित्तामा विभिन्न भगवानका तस्बिर टाँगिएका थिए र उनी ठूलो हल जस्तो ठाउँमा बसेका थिए।

प्रारम्भिक रूपमा उनले लाइभमा आफू गोकर्णनाथ मृगस्थलीमा रहेको दाबी गरेपछि प्रहरी अधिकारीहरू चकित भए। तर प्राविधिक अनुसन्धानपछि ‘लाइभ मृगस्थलीबाट नभई गोरखा जिल्लाको सरस्वती आश्रमबाट गरिएको’ स्पष्ट भयो।

त्यसपछि, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जिल्ला प्रहरी कार्यालय गोरखासँग समन्वय गर्दै उनलाई सरस्वती आश्रमको सन्त निवास हलबाट पक्राउ गर्यो। पक्राउको बेला भुसाल सुतिरहेका थिए, घाँटीमा रुद्राक्षको माला र फूलको माला लगाएका थिए भने गालामा ‘सीताराम’ लेखिएको पिताम्बर भिरेका थिए।

प्रहरीका अनुसार, भुसाल हिजो साँझ मात्रै गोरखा पुगेका हुन। भुसालले सामाजिक सञ्जाल र विभिन्न कार्यक्रममार्फत विवादास्पद अभिव्यक्ति दिएका कारण प्रहरीले उनको खोजी सुरु गरेको थियो। उनले विशेष गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, काठमाडौँका मेयर बालेन्द्र साह र वर्तमान प्रधानमन्त्री सुशीला कार्कीको नाम लिएर हिंसात्मक अभिव्यक्ति दिँदै आएका थिए।

शनिबार संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै भुसालले गत भदौ २३ मा भएको जेनजी आन्दोलनमा दमन भएको आरोप लगाएका थिए। उनले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई २२ जनाको मृत्युको जिम्मेवार बताएका थिए।

उनले सिंहदरबार लगायतका देशका महत्वपूर्ण सम्पदाहरुमा ड्रोन आक्रमण गर्ने र ओली र एमाले नेता महेश वस्नेतलाई आगामी दशैं देख्न नदिने धम्की दिएका थिए। उनका यस्ता अभिब्यक्तिले समाजमा सुरक्षा र कानून कार्यान्वयनप्रति प्रश्न खडा गरेको थियो। प्रहरीले भुसालविरुद्ध आवश्यक अनुसन्धान सुरु गरिसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट