अमेरिकाले देश निकाला गरेका रास्वपाका पूर्वकेन्द्रीय सदस्य मोहन थापा चितवन बैठकमा
काठमाडौँ— अमेरिकाले देश निकाला गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वकेन्द्रीय सदस्य मोहन थापा अहिले पुनः राजनीतिक रूपमा सक्रिय देखिएका छन्। अमेरिकाबाट डिपोर्ट भएर नेपाल फर्किएका थापा हाल चितवनमा जारी रास्वपाको विस्तारित बैठकमा सहभागी भएका छन्।
थापा गत वर्षको फागुन महिनामा अमेरिकामा पक्राउ परेका थिए। अमेरिकी इमिग्रेशन एन्ड कस्टम इन्फोर्समेन्टले उनलाई गैरकानुनी गतिविधिमा संलग्न भएको आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। सो क्रममा उनी अध्यागमनसम्बन्धी कानुन र अमेरिकाका अन्य कानुनी प्रावधान उल्लंघन गरेको आरोपमा अनुसन्धानमा तानिएका थिए।
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले दोस्रो कार्यकालका लागि सत्तामा आएपछि गैरकानुनी रूपमा बसोबास गर्दै आएका विदेशी नागरिकहरूमाथि कडा निगरानी र देश निकाला नीति लागू गरेको थियो। सोही अभियानअन्तर्गत मोहन थापा पनि २९ साउनमा नेपाल फिर्ता पठाइएका थिए।
थापा पक्राउ परेपछि रास्वपाले तुरुन्तै विज्ञप्ति जारी गर्दै थापाले पार्टी जिम्मेवारीबाट अलग हुने निर्णय गरिसकेको जनाएको थियो। रास्वपाका नेता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, ‘मोहन थापाजी अमेरिकन इमिग्रेसनको हिरासतमा पर्नुभएको जानकारीमा आएको छ। उहाँले यसअगावै ‘आफूले केही व्यक्तिगत कानुनी प्रक्रियाहरू स्पस्ट र समाधान गर्नु छ र सो किनारा नलागेसम्मका लागि म केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहन’ भन्दै निवेदन दिएर जानुभएको थियो।’
पार्टीले थापाको गिरफ्तारी र कानुनी समस्या पार्टीको औपचारिक गतिविधिसँग सम्बन्धित नरहेको स्पष्ट पारेको थियो। थापा यसअघि पनि विवादास्पद कार्यका कारण चर्चामा आएका थिए। उनले प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवा संयुक्त राष्ट्रसंघ महासभामा सहभागी हुन न्यूयोर्क पुगेका बेला सामाजिक सञ्जालमार्फत कालो झण्डा र जुत्ताको माला देखाउने अभियानको आह्वान गरेका थिए।
हाल चितवनमा जारी रास्वपाको विस्तारित बैठकमा उनको पुनः उपस्थिति पार्टीभित्र चर्चा र प्रश्नको विषय बनेको छ। पार्टी नेतृत्वले औपचारिक रूपमा उनलाई पुनः भूमिकामा फर्काएको छ वा छैन भन्ने विषयमा भने स्पष्ट प्रतिक्रिया दिएको छैन।

