गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेसु डा. दिलीप साहले कुटाई खाए, अस्पताल तनावपूर्ण

राजविराज — सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आइतबार साँझ आक्रोशित आफन्त र युवाहरूको समूहले निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. दिलीप साहमाथि हातपात गरेका छन्।

अस्पतालको नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) मा भएको विद्युत् सर्टसर्किटका कारण एलईडी बल्ब खसेर एक नवजात शिशु घाइते भएपछि घट्ना भएको हो। रूपनी गाउँपालिका–५ हर्दियाकी रेखा यादवको शिशु बल्ब खसेर घाइते भएपछि तत्कालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको अस्पतालले जनाएको छ।

स्रोतका अनुसार आइतबार साँझ एनआईसीयू वार्डमा अचानक विद्युत् सर्टसर्किट भएर छतको बल्ब खस्दा अस्पतालमै जन्मिएका नवजात शिशु घाइते भएका थिए। सो घटना पछि आक्रोशित परिवारजन र जेन–जी समूहका युवाहरू अस्पताल प्रशासनमाथि लापरवाहीको आरोप लगाउँदै एनआईसीयूमा नै पसेका थिए।

त्यही क्रममा समूहभित्र रहेका केही व्यक्तिले निरीक्षणका लागि पुगेका निमित्त मेसु डा. दिलीप साहमाथि हातपात गरेका हुन्। डा. साहका अनुसार, ‘म सर्टसर्किटको कारण बुझ्न एनआईसीयूमा पुगेको थिएँ। त्यही बेला केही व्यक्तिहरू ममाथि एक्कासी जाइलागे र धकेलेर कुटपिट गरे।’

मेसुमाथि आक्रमणपछि अस्पतालका चिकित्सकहरू एकजुट भएर आक्रोश प्रकट गरेका छन्। उनीहरूले दोषीलाई तुरुन्त पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्दै आकस्मिक कक्ष (इमर्जेन्सी) र एनआईसीयू सेवा बन्द गरेका छन्। ‘जबसम्म आक्रमणकारी पक्राउ पर्दैनन्, तबसम्म सेवा सञ्चालन गरिँदैन।’– चिकित्सकहरूले भने।

एनआईसीयूमा रहेका अन्य तीन नवजात शिशुलाई सुरक्षित स्थानमा सारिएको र अस्पतालभित्र थप तनाव फैलिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। मेसुमाथि हातपातपछि आक्रोशित समूहले अस्पताल परिसरमै प्रदर्शन गर्दै डस्टबिनमा आगजनी गरेका छन्। अस्पतालको केही संरचना र झ्यालमा तोडफोड भएको प्रहरीले जनाएको छ।

अस्पताल परिसरमा ‘अस्पताल प्रशासन होसमा आओ’, ‘जनताको स्वास्थ्यसँग खेलवाड बन्द गर’ जस्ता नाराहरू लगाइएको थियो। जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी डम्बरबहादुर पुरीका अनुसार, घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

‘हातपात र तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचान भइरहेको छ। स्थिति नियन्त्रणमा लिन प्रहरी टोली खटाइएको छ,’ डीएसपी पुरीले भने। तर, अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन। हाल अस्पताल परिसरमा बाक्लो सुरक्षा व्यवस्था मिलाइएको छ भने स्थानीय प्रशासनले अवस्था सामान्य पार्ने प्रयास गरिरहेको छ।

स्थानीय बासिन्दा र जेन–जी समूहका युवाहरूले अस्पताल प्रशासनमाथि लापरवाही र सुविधाको अभावबारे गुनासो गरेका छन्। उनीहरूले भने, ‘अस्पतालको विद्युत् प्रणाली जीर्ण छ, रोगीको ज्यान जोखिममा छ, तर प्रशासन मौन छ।’

तर, अस्पताल प्रशासनले घटना आकस्मिक भएको र तत्काल मर्मत कार्य सुरु गरिएको जनाएको छ। अस्पताल प्रशासनले सबै पक्षलाई संयमित रहन र चिकित्सकहरूमाथि आक्रमण रोक्न आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट