ह्विप उल्लङ्घन गरी सरकार ढाल्ने माओवादीका दुई सांसदलाई कारवाहीः साधारण सदस्यसमेत नरहने गरी हटाउने तयारी
जनकपुर— मधेस प्रदेश सभाका दुई सांसदलाई नेकपा माओवादी केन्द्रले अनुशासनको कारबाही प्रक्रिया अघि बढाएको छ। तत्कालीन मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनललाई विश्वासको मत दिने सन्दर्भमा पार्टीको ह्विप उल्लङ्घन गरेको भन्दै संसदीय दलले उनीहरूविरुद्ध कठोर कदम चाल्ने तयारी गरेको हो।
माओवादी केन्द्र संसदीय दल, मधेस प्रदेशका नेता तथा पूर्वमन्त्री भरत साहका अनुसार पार्टी ह्विप विपरीत प्रदेश सभा बैठकमा सहभागी भई ‘विश्वासको मत नदिने’ घोषणा गर्ने सांसद रहबर अन्सारी र मालाकुमारी कर्णविरुद्ध संगठनात्मक कारबाहीको प्रक्रिया सुरु गरिएको हो।
यी दुई सांसदकै कारण पाँचदलीय गठबन्धनको समर्थनमा बनेको लोसपा नेता जितेन्द्रप्रसाद सोनल नेतृत्वको सरकार ढलेको थियो। विश्वासको मतको दिन पार्टीका अन्य सांसदले सोनललाई समर्थन गरे पनि अन्सारी र कर्णले खुला रूपमा विरोध जनाएका थिए। अन्सारीले त रोष्टममा उभिएर आफनै अनुहारमा कालोमोसो समेत दलेका थिए।
संसदीय दलका नेता साहले भने, ‘पार्टीको निर्णयविपरीत आचरण गर्ने, सार्वजनिक रूपमा ह्विप उल्लङ्घन गरी वितण्डा मच्चाउने कार्य गैरसंवैधानिक र अनुशासनविपरीत भएकोले उनीहरूलाई साधारण सदस्यता समेत नरहने गरी कारबाही गर्न केन्द्रीय समितिले निर्णय गरिसकेको छ।’
उनका अनुसार, केन्द्रबाट आधिकारिक पत्र प्रदेशमा आइपुग्ने बित्तिकै प्रदेश सभा सचिवालयमा दुवै सांसदको पद खारेजका लागि सिफारिस गरिनेछ। माओवादी केन्द्रले यसअघि पनि आफ्ना जनप्रतिनिधिहरूलाई पार्टीको ह्विप र नीति विपरीत गएमा कडा कारबाही गर्ने चेतावनी दिँदै आएको छ। तर, अन्सारी र कर्णले यसपटक चेतावनीको अवज्ञा गरेको भन्दै दलभित्र उनीहरूविरुद्ध व्यापक असन्तोष देखिएको छ।
सप्तरी घर भएकी माला कर्ण समानुपातिक सांसद हुन। माओवादीले अघिल्लो कार्यकालमा उनकी दिदी रुबी कर्णलाई समानुपाति सांसद बनाएको थियो। यसैगरी, रहबर अन्सारी पर्साको वीरगञ्ज महानगरपालिका–१४ का वासिन्दा हुन। उनी पर्सा–१ (क) बाट प्रदेश सांसदमा निर्वाचित भएका थिए।

