जेनजी आन्दोलनको धङ्धङीः खुकुरी हल्लाउँदै हतियार खोस्न दौडिएका युवकलाई प्रहरी हान्यो गोली
विराटनगर — संखुवासभाको खाँदबारीमा जेनजी आन्दोलनकै झल्को दिनेगरी खुकुरी हल्लाउँदै प्रहरीको हतियार खोस्न आईलागेका एक युवकलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।
आइतबार दिउँसो खाँदबारी नगरपालिका–१ बसपार्क क्षेत्रमा सादा पोशाकको प्रहरी टोली खाँदबारी–६ का ३१ वर्षीय रुद्रबहादुर विश्वकर्मालाई पक्राउ गर्न खटिएको थियो। सोही क्रममा उनी खुकुरी निकालेर प्रहरीमाथि आक्रामक रूपमा आईलागे। त्यसपछि भाग्ने क्रममा प्रहरीमाथि पनि हातपात गरे।
सोही क्रममा हतियार खोस्न खोजेपछि प्रहरीले तिघ्रामा एक राउन्ड गोली चलाएर उनलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी कुमारप्रसाद मैनालीका अनुसार विश्वकर्मा जबरजस्ती करणी मुद्दामा ६ वर्ष सजाय काटेर हालै कैदमुक्त भएका हुन्।
कारागारबाट निस्किएपछि पनि उनीविरुद्ध ६/७ वटा चोरीसम्बन्धी उजुरी परिरहेका थिए। त्यही आधारमा उनलाई पक्राउ गर्न खोज्दा उनले खुकुरीसहित आक्रमक व्यवहार देखाउँदै हतियार खोस्ने प्रयास गरेका थिए।
गोली लागेर घाइते भएका विश्वकर्माको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भईरहेको डिएसपी मैनालीले बताए।

