प्रहरीको दाबीः सिंहदरबारदेखि संसद भवनलगायत सरकारी संरचना जलाउने भीडको कमाण्डर पूर्वमन्त्री साहका छोरा

काठमाडौँ— जेन–जी आन्दोलनको नाममा राजधानीभर भड्किएको हिंसात्मक गतिविधिको पछाडि सामान्य आन्दोलनकारी नभई राजनीतिक पहुँच र पारिवारिक संरक्षणको आड पाएको संगठित समूह सक्रिय रहेको प्रहरीको विश्लेषणले देखाएको छ। प्रहरीका अनुसार यस समूहको ‘कमाण्डर’ पूर्वमन्त्री प्रभु साहका छोरा विकेश साहल हुन।

सिंहदरबार सुरक्षामा खटिएको प्रहरी गणले पठाएको विस्तृत ब्रिफिङमा उल्लेखित दाबीअनुसार, पछिल्लो समय सिंहदरबारभित्र–बाहिर जेन–जीका माग पूरा नभएको भन्दै उत्पात मच्चाउने, हुलहुज्जत गर्ने र प्रहरीमाथि दुव्र्यवहार गर्ने टोलीलाई विकेशकै नेतृत्वमा व्यवस्थित रूपमा परिचालन गरिएको देखिन्छ।

सोमबार र मंगलबार मात्रै उनले बनाएका विभिन्न उपसमूहहरूले सिंहदरबार परिसरमा हुलदंगा मच्चाएको प्रमाण सुरक्षाकर्मीले संकलन गरी तत्कालै माथिल्लो निकायमा पठाएको छ। प्रहरीका अनुसार विकेश साह कुनै सामान्य प्रदर्शनकारी होइनन। उनी भदौ २४ को देशव्यापी भड्किएको हिंसा, संसद भवन परिसरमा भएको आगजनी, एमाले केन्द्रीय कार्यालयमा भएको तोडफोडदेखि भैंसेपाटीस्थित मन्त्री निवाससम्म पुगेको भीडमा अग्रपंक्तिमा देखिएका थिए।

प्रहरीको ‘फुटेज ट्रयाकिङ’ अनुसार, धेरै स्थानमा विकेश आफ्नै मोबाइलबाट खिचिएका भिडिओ तथा फोटो सामाजिक सञ्जालमा राख्दै हिंसात्मक गतिविधि ‘प्रदर्शन’ गरिरहेका थिए। केही सामग्री उनले पछि मेटाए पनि प्रहरी महाशाखाले सबै सुरक्षित रूपमा संकलन गरेको दाबी गरिएको छ।

यसबाहेक, काठमाडौं महानगरपालिकाले हटाएका कबाडी ब्यवसायीलाई समेत विकेशले जेन–जी आन्दोलनको भीडमा मिसाएर आगजनी र लुटपाटका गतिविधिमा प्रयोग गरेको अनुसन्धानमा संलग्न अधिकारीहरूको भनाइ छ। ‘उनीहरूले आन्दोलन होइन, अराजकता आयोजना गरिरहेका थिए,’ एक प्रहरी अधिकारीले टिप्पणी गरे।

विकेशको परिवार राजनीतिक रूपमा अत्यन्त शक्तिशाली मानिन्छ। उनका बुबा प्रभु साह पूर्व माओवादी नेता, पटक–पटक मन्त्री, एमाले हुँदै फेरि स्वतन्त्र राजनीतिमा सक्रिय छन् भने उनकी आमा रानीकुमारी साह मौलापुर नगरपालिकाकी दुईपटक निर्वाचित मेयर हुन। राजनीतिक पहुँच र पारिवारिक संरचना भएको घरानाबाट आउने विकेशसहितका युवाहरूले जेन–जी आन्दोलनलाई ‘नेपो किड्स’को नाममा भड्काएर विध्वंश मच्चाएको प्रहरीको भनाई छ।

विकेशले केही समयअघि जेन–जी आन्दोलनको ‘भ्रातृ संगठन’ गठन गरेर आफ्ना बुबालाई प्रमुख अतिथि बनाएको घटना अहिले पुनः चर्चामा छ, किनकि प्रहरीले हाल गर्दै आएको अनुसन्धानले जेन–जी आन्दोलनको मूल मुद्दा ओझेल पार्ने गरी राजनीतिक अभिरुचियुक्त समूहहरूले हिंसा निर्देशन गरेको निष्कर्ष निकालिरहेको छ।

अहिले प्रहरी फाइलमा विकेश साह एउटा महत्वपूर्ण ‘कि पर्सन’ बनेका छन्। उनीमाथि संकलित भिडियो, फोटो, प्रत्यक्षदर्शीको बयान र डिजिटल प्रमाणहरूको आधारमा प्रहरीले सम्बन्धित निकायमा विस्तृत ब्रिफिङ पठाइसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट