राज्यका बन्दुक खुलेआम किनबेचः देशको सुरक्षा बागडोर अपराधीको हातमा !
काठमाडौँ— जेन–जी आन्दोलनको अराजक्ताका बीचमा लुटिएका प्रहरीका पेस्तोलहरू देशभर तस्करीझैँ बिक्री–वितरण भईरहेका घट्नाहरु खुलासा भईरहेका छन्। राजधानीदेखि झापा–इलामसम्म फैलिएको ‘हतियार खरिद–विक्री’ ले प्रहरीलाई हैरान पारेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार भदौ २४ गते स्वयम्भू प्रहरी वृत्तबाट लुटिएको चाइनिज टाइप–५४ पेस्तोलसहित तीनजनालाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा कलंकीका रसिल जोशी, सुन्धारामा बस्ने ‘डेबिड’ भनिने रामचन्द्र कुँवर र बाफलका विराटप्रसाद जोशी छन्। रसिल लागुऔषध मुद्दामा साउन २६ गतेदेखि हिरासतमा थिए तर आन्दोलनको भीडमा भदौ २४ गते हिरासतबाट बाहिर निस्किएका थिए। अराजक वातावरणमै रसिल, डेबिड र विराटले स्वयम्भूस्थित प्रहरी वृत्तमा रहेका हतियारहरू लुटेका थिए।
प्रहरीका अनुसार उनीहरू पेस्तोललाई अवैध रूपमा बेच्न ग्राहक खोज्दै हिँडिरहेका थिए। विभिन्न व्यक्तिहरूसँग मूल्यबारे कुरा भएको सुराकी पाएपछि तीनै जनालाई पक्राउ गरिएको हो। लुटिएको पेस्तोल डेविडको साथबाट बरामद भएको प्रहरीले जनाएको छ।
काठमाडौँको यो प्रतिनिधि घटना मात्रै हो। झापामा खुलेको विवरण अझै भयावह छ। रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयबाट लुटिएको चाइनिज टाइप–५४ पेस्तोल र २० राउन्ड गोली झापामा लागुऔषध कारोबारीको खोजतलासीका क्रममा फेला परेको छ। प्रहरीले पहिलो अभियुक्तका रूपमा दमक–८ का २५ वर्षीय सरोज पुरीलाई पक्राउ गरेको थियो।
जेन–जी आन्दोलनको भीडमा काठमाडौँ पुगेका सरोजको कोठाबाट १५ राउन्ड गोलीसहित एक पेस्तोल बरामद भएको हो। सोधपुछमा सरोजले पेस्तोल दमक–६, प्रशान्ती टोलका २९ वर्षीय विश्व लिङ्देनलाई दिएको बताए। विश्व नेपाली कांग्रेसका नेता तथा पूर्व संविधानसभा सदस्य विश्वदीप लिङ्देनका छोरा हुन्। प्रारम्भिक बयानमा उनले पेस्तोल इलामका साथी पवन हाङसुङ्वालाई २० हजार रुपैयाँमा बेचेको स्वीकार गरेका थिए।
विश्वको बयानका आधारमा झापा प्रहरीले इलामको चुलाचुली गाउँपालिका–४ का ३० वर्षीय पवनलाई नियन्त्रणमा लियो। पवनले आफूले खरिद गरेको पेस्तोल बारीमा रातो प्लास्टिकमा बेरेर गाडेको बताएका थिए। उत्खनन गर्दा खिया लागेको अवस्थामा पेस्तोलसहित पाँच राउन्ड गोली बरामद भयो।
प्रहरीबाट लुटिएको पेस्तोल केही दिनमै झापासम्म पुगेर इलाममा गाडिनु आपराधिक नेटवर्कको गम्भीर संकेत भएको प्रहरी अधिकारीहरू बताउँछन्। अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार, तीनै अभियुक्त लागुऔषध प्रयोगकर्ता जस्तै देखिन्छन् र उनीहरू पछाडि ठूलो गिरोह सक्रिय हुनसक्ने प्रारम्भिक संकेत छ।
स्रोत भन्छ— ‘विश्वले सुरुमा २० हजारमा बेचेको भन्यो, पछि बयान बदल्दै ‘राख्न दिएको’ पनि भन्यो। यसले हतियार कारोबारको संवेदनशील चेन देखाउँछ।’ झापामा बरामद पेस्तोल, २० राउन्ड गोली र पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी पठाइएको छ।
रानीपोखरी प्रहरीले अब हतियार कसरी लुटियो, कसले ओसार्यो, कसले बेच्यो, किन बारीमा गाडियो भन्ने विषयमा विस्तृत अनुसन्धान अघि बढाउने बताएको छ। यो घटनासँगै सुरक्षा–व्यवस्थाको चरम संवेदनशीलता उजागर भएको छ। राजधानीमै प्रहरी कार्यालयबाट लुटिएको हतियार केही दिनमै झापा–इलाम पुगेर बिक्री–वितरण हुनु केवल आपराधिक क्रियाकलाप मात्र होइन, देशभर फैलिएको ‘अनौपचारिक आम्र्स–नेटवर्क’ को गहिरो छायाँ हो।

