सप्तरीमा विदेशी नागरिकको आवतजावतमा कडाइ, सुरक्षा निकाय ‘हाई एलर्ट’

राजविराज — भारतसँग करिब ७८ किलोमिटर खुला सीमा जोडिएको सप्तरीमा विदेशी नागरिक अवैध रूपमा प्रवेश गर्नसक्ने उच्च सम्भावना देखिएपछि जिल्ला प्रशासनले सुरक्षा संयन्त्रलाई कडा निगरानीमा जुट्न निर्देशन दिएको छ।

बुधबार जारी सूचनामार्फत प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सबै सुरक्षा निकायलाई ‘सूक्ष्म मोनिटरिङ’ गर्न आदेश दिएको हो। प्रशासनका अनुसार सीमा क्षेत्रमा बिना अनुमति प्रवेश गर्ने विदेशी नागरिकलाई नागरिकता वा परिचयपत्र हेरेर मात्र आवतजावतको अभिलेख राख्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

खुला सिमानाका बिन्दुहरूमा कडाइ गर्दै सुरक्षा कर्मीलाई नियमित गस्ती वृद्धि गर्न, शंकास्पद रूपमा बसोबास गर्ने विदेशी नागरिकको विवरण संकलन गरी कानुनी दायरामा ल्याउन आदेश गरिएको छ।

त्यसक्रममा विद्यालय, स्थानीय बस्ती तथा संवेदनशील स्थानहरूमा शंकास्पद गतिविधि देखिए तुरुन्त जानकारी दिन स्थानीयवासीलाई आग्रह गरिएको छ। प्रशासनले सबै स्थानीय तहलाई विदेशी नागरिकबाट हुनसक्ने जोखिमबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि सुझाएको छ।

होटल तथा लज सञ्चालकलाई ‘बास बस्न आउने प्रत्येक आगन्तुक’ को परिचय खुल्ने कागजात अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था कडाइका साथ लागू गर्न भनिएको छ। यसबाहेक विदेशी धर्म प्रचार–प्रसार वा धार्मिक उक्साहट गर्ने गतिविधि देखिए राजनीतिक दल, जनप्रतिनिधि, नागरिक अगुवा र समाजसेवीले तुरुन्त सूचना दिन प्रशासनले अपिल गरेको छ।

सप्तरीमा पछिल्ला वर्षमा भइरहेको असामान्य आवतजावत, तस्करीका घटना र आपराधिक समूहको गतिविधिबाट उत्पन्न जोखिमलाई ध्यानमा राख्दै प्रशासनले सुरक्षा संयन्त्रलाई ‘उच्च सतर्कता’ मा राखेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट