शैक्षिक भ्रमणमा रहेकी सिन्धुलीकी १८ वर्षीया किशोरीको सौराहामा होटलको चौथो तलाबाट खसेर मृत्यु
चितवन — पर्यटकीय नगरी सौराहामा घुम्न आएकी एक १८ वर्षीया किशोरीको होटलको चौथो तलाको झ्यालबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ निवासी स्नेहा पाख्रिन शैक्षिक भ्रमणको क्रममा सौराहा आएकी थिइन्।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालका अनुसार उनी रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइड होटलको चौथो तलाको झ्यालबाट गएराति करिब ११ बजे खसेकी थिइन्। गम्भीर रुपमा घाइते पाख्रिनलाई तत्काल उद्धार गरी रत्ननगर बकुलहर अस्पताल पु¥याइएको थियो। तर चिकित्सकले राति पौने १२ बजे उनलाई मृत घोषणा गरेका थिए।
मृतक पाख्रिन सिद्धबाबा प्लस टु म्यानेजमेन्ट गुरुकुलमा अध्ययनरत थिइन्। विद्यालयको टोलीसँगै उनी शैक्षिक भ्रमणमा सहभागी भएकी थिइन्। शवलाई पोस्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाइएको छ। होटल परिसरमा कसरी घटना भयो भन्नेबारे प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

