सामान्य विवादको भयावह अन्त्यः दाजुले हानेको धारिलो हतियारले २८ वर्षीय श्रवणको प्राण गयो

विराटनगर — मोरङको जहदामा दाजुभाइबीचको सामान्य घरायसी विवाद ज्यानमारा घट्नामा परिणत भएको छ। दाजुको आक्रमणमा परी २८ वर्षीय भाई (काकाको छोरा) ले ज्यान गुमाएका छन्।

प्रहरीका अनुसार जहदा गाउँपालिका–७, तरिगामास्थित मझारेमा बुधबार राति करिब पौने ९ बजे ३० वर्षीया राजकुमार साह र उनका भाई श्रवणकुमार बीच विवाद भएको थियो। सोही क्रममा राजकुमारले हानेको धारिलो हतियारको चोटले श्रवणको मृत्यु भएको छ। राजकुमार फरार भएका छन्।

राजकुमारले श्रवणको बायाँ छातीतर्फ धारिलो हतियार प्रहार गरेका थिए। गम्भीर घाइते श्रवणलाई तत्कालै उद्धार गरी बिराट टिचिङ अस्पताल लगिए पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर लेखनाथ दाहालले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानअनुसार विवाद सामान्य नै थियो। तर, राजकुमारले रिस थाम्न नसक्दा भाइमाथि घातक आक्रमण गरेको प्रहरीले जनाएको छ। घटनास्थल भारतीय सीमाबाट करिब १ सय मिटर दूरीमै रहेकोले भाईलाई आक्रमण गरी राजकुमार भारततर्फ भागेको जनाईएको छ।

प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरी खोजतलास तीव्र पारेको र भागेकालाई नियन्त्रणमा लिन प्रयास जारी रहेको जनाएको छ। मृतक श्रवणको पोस्टमार्टम सम्पन्न गरी शव परिवारलाई बुझाइसकिएको छ। घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट