कारागार सुरक्षामा खटिएकी हवल्दार सीताको ‘हत्यारासँग प्रेम’: विवाद चर्किँदै गएपछि विभत्स हत्या
काठमाडौँ– लमजुङकी पूर्व प्रहरी हवल्दार सीता कँडेलको रहस्यमय र वीभत्स हत्या प्रकरणमा अन्ततः मुख्य अभियुक्त बुद्धिराम दराई भारतको दिल्लीबाट पक्राउ परेका छन्।
बेसीसहर नगरपालिका–२ भकुण्डेस्थित कँडेल बस्ने कोठाबाट चैत ३१ मा दुर्गन्ध फैलिएपछि प्रहरीले ताला खोलेर प्रवेश गर्दा उनी खाटमुनि त्रिपालमा बेरिएको अवस्थामा मृत फेला परेकी थिइन्। तीन दिनसम्म कार्यालयमा हाजिर नभएपछि प्रहरीले कँडेलको खोजी सुरु गरेको थियो।
कोठाभित्र कँडेलले बोक्ने मोबाइल फोनसमेत भेटिएन। एक्लै बस्दै आएकी कँडेलका छोरा–बुहारी अस्ट्रेलियामा रहेका कारण सुरुमा घटना झन् रहस्यमय देखिएको थियो। तर वरपरका सीसीटीभी फुटेज विश्लेषण गर्दा एक युवक कँडेलको कोठाभित्र छिरेको देखिएपछि अनुसन्धानले स्पष्ट दिशा लियो।
स्थानीयहरूले पनि ति युवकबारे प्रहरीलाई जानकारी दिँदै उनी कँडेलसँगै एउटै घरमा बस्दै आएका चितवनका बुद्धिराम दराई भएको पुष्टि गरिदिए। घटना सार्वजनिक हुनासाथ दराई भारततर्फ भागिसकेको सूचना पाएपछि लमजुङ प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को सहयोग माग्यो।
सीआईबीले भारतमा दराईको वारेमा पत्ता लगाउन त्यहाँको प्रहरीसँग समन्वय ग¥यो। प्रारम्भिक रूपमा बेलहिया नाकाबाट पक्राउ गरिएको भनिए पनि पछि खुलेको विवरणअनुसार दराई भारतको दिल्लीस्थित एक होटलमा सेक्युरिटी गार्डका रूपमा काम गर्दै लुकेर बसेका थिए। त्यहीँबाट उनलाई पक्राउ गरी नेपाल ल्याइयो।
अनुसन्धानका क्रममा दराईको गम्भीर आपराधिक इतिहास पनि उजागर भएको छ। उनी सन् २०६७ मा गोरखा फिनामकी चिनिमाया पाण्डेको घाँटी थिचेर हत्या गरेको अभियोगमा पक्राउ परेका थिए। २०६८ असार २० मा जिल्ला अदालत गोरखाले उनलाई सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो। जेलमा बसेका बेला नै उनको भेट सीता कँडेलसँग भएको थियो।
भीमफेदी कारागारमा ड्युटीमा खटिएकी कँडेल र कैदी दराईबीच सम्बन्ध बनेको र दराईले विवाहको आश्वासन दिँदै कँडेललाई आफूतिर आकर्षित पारेको अनुसन्धानबाट खुलेको छ। जेलमुक्त भएपछि कँडेल र दराई केही समय सँगै बसे पनि पछिल्लो चरणमा आर्थिक विषयमा विवाद बढ्दै गएपछि दुवैबीच सम्बन्ध कमजोर भएको बताइन्छ।
यही विवादकै बीच दराईले कँडेलको हत्या गरी भारत भागेको प्रारम्भिक अनुसन्धान निष्कर्षमा उल्लेख छ। स्रोतका अनुसार दराई महिलालाई फकाइफुल्याई सँगै बस्ने र विवाद बढेपछि हत्या गरी फरार हुने प्रवृत्ति दोहोर्याउँदै आएको देखिन्छ।
दराईविरुद्ध कर्तव्य ज्यान मुद्दामा वैशाख १५ मै लमजुङ अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। उनलाई भारतबाट ल्याएर सीआईबीले जिल्ला प्रहरी कार्यालय लमजुङमा बुझाइसकेको छ। अब कँडेल हत्या प्रकरणका सबै कोणमा विस्तृत अनुसन्धान गर्ने तयारी प्रहरीले थालेको छ।

