गोवाको नाईट क्लवमा भएको आगलागीमा परी मृत्यु हुने २५ मध्ये ४ जना नेपाली रहेको पुष्टि
काठमाण्डौँ– भारतको गोवास्थित ब्रिच बाइ रोमियो लेन नाइट क्लबमा भएको आगलागीमा चार जना नेपाली नागरिकले ज्यान गुमाएको खुलेको छ। आइतबार भएको उक्त घटनामा २५ जनाको मृत्यु भएको थियो भने घाइतेको संख्या अझै बढिरहेको छ।
मृतक नेपाली नागरिकको नाम चुर्णबहादुर पुन, विवेक कटवाल, सबिन र सुदीप रहेको पुष्टि भएको छ। परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले चार जना नेपालीको मृत्यु पुष्टि गर्दै नयाँ दिल्लीस्थित दूतावासले स्थानीय प्रशासन र अधिकारीहरूसँग समन्वयमा रहेको जानकारी दिए।
उनले भने, ‘संवेदनशील अवस्थामा हामी मृतकका परिवारसँग सम्पर्क राख्दै थप विवरण संकलन गरिरहेका छौं।’ घटनास्थलमा आगो नियन्त्रण गर्न स्थानीय दमकल टोलीले रातभर प्रयास गरेको थियो। प्रारम्भिक रिपोर्ट अनुसार, क्लबमा अत्यधिक भिडभाड र सुरक्षा व्यवस्थाको अभावका कारण आगलागी तीव्र रूपमा फैलिएको थियो।
प्रहरी र दमकलका अधिकारीहरूले जलेको क्षेत्रको निरीक्षण गर्दा अधिक भाग पूर्णरूपमा नष्ट भएको देखिएको छ। मृतक नेपालीहरूको परिवारले अहिले उद्धार र शव व्यवस्थापनका लागि दूतावाससँग सम्पर्क गरिरहेका छन्।
घटनाले रोजगारमा गएका नेपालीको सुरक्षा र अन्तर्राष्ट्रिय घटनाप्रतिको तयारीको अवस्था माथि प्रश्न उठाएको छ। स्थानीय अधिकारीहरूले आगलागीको कारण अझै अनुसन्धान भइरहेको बताएको छन्। यद्यपी, ग्यास सिलिण्डर विस्फोट भएर आगलागी भएको जनाईएको छ।
यो पनि,

