१३ वर्षीया बालिकालाई बन्धक बनाएर बलात्कार गरी फरार भएका एमाले नेता भारतको सीतामढीबाट पक्राउ
जनकपुर— धनुषामा १३ वर्षीया बालिकालाई बन्धक बनाई बलात्कार गरेको आरोपमा नेकपा एमालेका नेता तथा उद्योगी–व्यवसायी शिवशंकर साह ‘हिरा’लाई प्रहरीले भारतको सीतामढीबाट पक्राउ गरेर ल्याएको छ।
भारतीय सुरक्षाकर्मीको सहकार्यमा मंगलबार साँझ साहलाई नियन्त्रणमा लिई राति जनकपुर ल्याएको हो। केही दिनअघि यही मुद्दामा पक्राउ पुर्जी जारी भएपछि उनी भारततर्फ भागेका थिए। प्रहरीका अनुसार सीतामढी क्षेत्रमै लुकेर बसेको सूचनाका आधारमा समन्वयमार्फत उनलाई पक्राउ गरिएको हो।
यो काण्ड विवाह–पञ्चमीको समयमा (कात्तिक २२ गते राति) भएको हो। जनकपुरको जानकीचोकस्थित एक होटलमा १३ वर्षीया बालिकालाई दुई रातसम्म बन्धक बनाइ कुटपिट, धम्की र बारम्बार बलात्कार गरिएको प्रारम्भिक अनुसन्धानले पुष्टि गरेको छ।
पक्राउ परेका मध्ये बालिकाका मामा सञ्जय महासेठले पीडकसँग मिलेर ‘मिलापत्र’ गराउने प्रयास गरेको, रकमसमेत लिएको र घटनालाई दबाउन खोजेको प्रहरी ठहर छ। महासेठलाई पनि प्रहरीले जनकपुरबाट नियन्त्रणमा लिएको छ।
यसअघि बालिकाका काका मनोजकुमार साह काठमाडौँबाट र फलसोम क्याफेका म्यानेजर अमित ठाकुर पक्राउ परेका थिए। अविवाहित रहेका मनोजले अपराध स्वीकार गर्दै बयानमा हिरासहित तीन जनाको नाम लिएका थिए। अन्य दुई जना अझै फरार छन्।
प्रहरीले उनीहरूमाथि कर्तव्य ज्यान प्रयास, अपहरण, मानव बेचबिखनसम्बन्धी प्रकृया, बन्धक बनाएर बलात्कार तथा बालबालिकामाथिको गम्भीर यौन हिंसा जस्ता गम्भीर अभियोगमा अनुसन्धान अघि बढाइरहेको छ।
घटनाको सबैभन्दा क्रुर पक्ष भनेको—पीडित परिवारले तत्काल उजुरी दिन नसक्ने गरी सामाजिक दबाब, धम्की र आर्थिक प्रलोभनको जाल बुनिएको तथ्य प्रहरीले देखाएको छ। पीडितकी आमा र हजुरबुवा घटनास्थल होटलमै पुगेपछि मात्रै बालिकाको उद्धार सम्भव भएको थियो।
‘हिरा’ धनुषा उद्योग वाणिज्य क्षेत्रका प्रभावशाली व्यक्ति मात्र होइनन्, उनी एक समय एमालेका मेयर उम्मेदवार तथा प्रदेश उद्योग वाणिज्य संघका संस्थापक अध्यक्षसमेत थिए। फरार अवस्थामै उनी एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधिमा मनोनयन पाएको तथ्यले राजनीतिक संरक्षण र प्रभावको जाल अझै गहिरो रहेको देखाएको छ।
प्रहरीले भने अपराधमा संलग्नहरु हैसियत वा राजनीतिक पहुँच भएको व्यक्ति भएपछि नछोड्ने जनाएको छ। पीडित बालिका अहिले सुरक्षासहित सेफ–हाउसमा राखिएकी छिन्। उनको बयान, मेडिकल रिपोर्ट र डिजिटल तथा वैज्ञानिक प्रमाणका आधारमा प्रहरीले अब मुद्दा अदालतमा दर्ता गर्न तयारी अघि बढाइरहेको छ।
यो घट्नामा एकातिर बालिकामाथिको क्रुर यौन अपराध, अर्कातिर राजनीतिक हैसियत र पैसाको बलमा ‘मिलापत्र’ गराउने प्रयास देखिएको छ। समाजिक रूपमा अत्यन्तै घृणित, कानुनी रूपमा गम्भीर र नैतिक रूपमा शर्मनाक यो अपराधले स्थानीय समुदायदेखि राष्ट्रिय तहसम्म आक्रोश फैलाएको छ।

