बालेनले सहमति टोडेर नयाँ बाटो हिड्ने संकेत गरेपछि भेट्न पुगे रवि लामिछाने, कुपण्डोलमा वान–टु–वान
काठमाडौँ— वैकल्पिक राजनीतिक शक्ति निर्माणको बहस चुलिँदै जाँदा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच वान–टु–वान छलफल सुरु भएको छ।
ललितपुरको कुपण्डोलस्थित बालेनका निकट सहयोगी कुमार बेनको घरमा मंगलबार उनीहरूबीच एक्लाएक्लै वार्ता भइरहेको छ। स्रोतका अनुसार छलफलको मुख्य केन्द्र आगामी प्रतिनिधिसभा निर्वाचन, वैकल्पिक शक्तिहरूको सम्भावित सहकार्य र भावी राजनीतिक रोडम्याप रहेको छ। छलफलमा रवि लामिछानेसँग रास्वपाका नेता असिम साह र गणेश कार्की पुगे पनि उनीहरू प्रत्यक्ष वार्तामा सहभागी छैनन्।
बालेन र रविबीचको छलफलअघि सोही स्थानमा कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सदस्य सुनील शर्मा पनि बालेनसँग भेटवार्ता गरेर फर्किएका थिए। बाहिरिने क्रममा शर्माले प्रतिनिधिसभा पुनस्र्थापना भएपछिको राजनीतिक अवस्थाबारे छलफल भएको बताएका थिए। त्यसपछि रवि लामिछाने कुपण्डोल पुगेका हुन्।
यसैबीच वैकल्पिक राजनीतिक अभियानमा सक्रिय व्यक्तिहरूको पनि कुपण्डोलमा उपस्थिति देखिएको छ। स्वतन्त्र अभियन्ता सागर ढकाल, जेनजी आन्दोलनपछि चर्चामा आएका ‘हामी नेपाल’ का अध्यक्ष सुदन गुरुङलगायत त्यहाँ पुगेका छन्।
यसअघि सोमबार राति पनि रवि र बालेनबीच लामो समय छलफल भएको थियो। रास्वपा नेता असिम साहको कमलपोखरीस्थित घरमा करिब ६ घण्टा चलेको उक्त भेटमा सरकार र पार्टी नेतृत्व बाँडफाँटको प्रस्ताव आएको चर्चा बाहिरिएको थियो। समाचारअनुसार पहिलो चरणमा सरकारको नेतृत्व बालेनले गर्ने र पार्टी नेतृत्व रविले सम्हाल्ने, अर्को निर्वाचनपछि भने रविले सरकारको नेतृत्व गर्ने प्रस्ताव राखिएको बताइएको थियो।
तर, भोलिपल्ट चितवन पुगेका रवि लामिछानेले त्यस्तो कुनै ठोस सहमति नभएको सार्वजनिक रूपमा बताएका थिए। त्यसपछि बालेन रविप्रति पूर्ण रूपमा निर्भर नरहने निष्कर्षमा पुगेको र आफ्नै ढंगले अघि बढ्ने तयारीमा लागेको राजनीतिक वृत्तमा चर्चा छ।
मेयर बालेन पछिल्ला दिनहरूमा राजनीतिक भेटघाट र परामर्शमा अत्यन्त सक्रिय देखिएका छन्। सोमबार र मंगलबार उनले डा. भगवान् कोइराला, पूर्वसचिव भीम उपाध्याय, राप्रपा नेता ज्ञानबहादुर शाही, सरसफाइ अभियन्ता केपी खनाल, जेनजी फ्रन्टकी संयोजक रक्षा बम, अभियन्ता सागर ढकाल, पूर्व विवेकशील साझाका नेता मिलन पाण्डे लगायतसँग छलफल गरेका थिए।
त्यस्तै, कलाकार निश्चल बस्नेत, सञ्चारकर्मी सुरजसिंह ठकुरी, पत्रकार ऋषि धमला र सञ्चार उद्यमी कैलाश सिरोहियासँग समेत राजनीतिक संवाद भएको बताइएको छ। मंगलबार बिहान मात्रै बालेनले ऊर्जामन्त्री कुलमान घिसिङसँग पनि भेटवार्ता गरेका थिए।
राजनीतिक स्रोतका अनुसार बालेन आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल गठनको तयारीमा जुटेका छन्। पुराना दलप्रति असन्तुष्ट नेता, अभियन्ता, कलाकार तथा विभिन्न क्षेत्रका लोकप्रिय व्यक्तिहरूलाई समेटेर नयाँ ‘पपुलिस्ट’ राजनीतिक प्लेटफर्म बनाउने तयारी भइरहेको बुझिएको छ।
समानुपातिकतर्फ उम्मेदवार नाम बुझाउने समय नजिकिँदै जाँदा बालेनको सक्रियता बढ्नुले वैकल्पिक राजनीति नयाँ मोडमा प्रवेश गर्न लागेको संकेत दिएको छ। कुपण्डोलमा जारी बालेन–रवि वार्ताले सहकार्यतर्फ मोड लिन्छ वा आ–आफ्नै बाटो तय हुन्छ भन्ने विषयले राष्ट्रिय राजनीतिक वृत्तको ध्यान तानेको छ।

