नियमविपरीत ‘घरेलु कामदार’ बनाइएका उदयपुरका प्रहरी कार्यालय सहयोगीको बुद्धनगरमा रहस्यमय मृत्यु
काठमाडौँ— उदयपुर घर भई प्रहरी प्रधान कार्यालयमा दरबन्दी रहेका प्रहरी कार्यालय सहयोगी बलबहादुर थापामगर पुस १४ गते काठमाडौँको बुद्धनगरमा मृत अवस्थामा फेला परे। काठमाडौँ महानगरपालिका–१० बुद्धनगरस्थित डेराको शौचालयमा झुन्डिएको अवस्थामा देखेपछि परिवारजनले उनलाई उपचारका लागि बानेश्वरस्थित एभरेस्ट अस्पताल लगे पनि अस्पताल पुग्दासम्म उनको मृत्यु भइसकेको थियो।
३० वर्षीय थापामगर प्रहरी प्रधान कार्यालयको दरबन्दीमा रहे पनि व्यवहारमा भने उनी पूर्वडीआईजी नलप्रसाद उपाध्यायको घरमा ‘घरेलु कामदार’को रूपमा परिचालित भएको खुलेको छ। उपाध्याय २०७९ चैत ११ गते सेवा निवृत्त भइसकेका पूर्व उच्च प्रहरी अधिकारी हुन्। सेवा निवृत्त भइसकेको व्यक्तिको निजी घरमा प्रहरी कार्यालय सहयोगी खटाइनु स्पष्ट रूपमा नियमविपरीत भएको प्रहरी स्रोतले जनाएको छ।
विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन कार्यविधि–२०७७ (परिमार्जित) अनुसार पूर्व डीआईजीले घरायसी कामका लागि प्रहरी कार्यालय सहयोगी पाउने व्यवस्था छैन। जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम मन्त्रिपरिषद्का गृहमन्त्री ओमप्रकाश अर्यालले कार्यविधिविपरीत खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेपछि पूर्वप्रधानमन्त्री तथा अन्य विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता भएका थिए।
तर, अवकाशप्राप्त केही उच्च प्रहरी अधिकारीहरूले अझै पनि सुरक्षाकर्मीको दुरुपयोग गरिरहेको गृह मन्त्रालयका अधिकारीहरूको भनाइ छ। प्रहरी प्रधान कार्यालयका अनुसार, पूर्व उच्च पदस्थ अधिकारीहरूको घरमा खटाइएका प्रहरी कार्यालय सहयोगीहरूले पटक–पटक ‘मानसिक तनाव’ सहनुपरेको गुनासो गर्दै आएका थिए।
यही पृष्ठभूमिमा थापामगरको मृत्युले प्रहरी संगठनभित्रै गम्भीर प्रश्न उठाएको छ—के उनीमाथि परेको मानसिक दबाब नै मृत्युको कारण हो? जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार घटनाबारे प्रहरी वृत्त नयाँ बानेश्वरले विस्तृत अनुसन्धान गरिरहेको छ। शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ। आत्महत्याको कारण अहिलेसम्म खुल्न सकेको छैन।
प्रहरी संगठनभित्र २०७१ सालसम्म कार्यालय सफाइ तथा नेतृत्व सहयोगमा खटिने कर्मचारीलाई ‘प्रहरी परिचर’ भनिन्थ्यो। पछि प्रहरी नियमावली संशोधन गरी उनीहरूलाई ‘प्रहरी कार्यालय सहयोगी’ नाम दिइएको हो। नियम, जिम्मेवारी र मानव अधिकारका विषयमा बारम्बार उठ्दै आएका प्रश्नबीच थापामगरको मृत्युले प्रहरीभित्रको अदृश्य दबाब र दुरुपयोगमाथि गम्भीर बहस सुरु गराएको छ।

