राजधानीको साँखु सडक खण्डमा भीषण बस दुर्घटना, सिरहाका एकसहित ५ को मृत्यु—घाइतेमध्ये केहीको अवस्था गम्भीर
काठमाडौँ — राजधानीको जहरसिंहपौवा–साँखु सडकखण्डमा बुधबार साँझ महानगर यातायातको यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ भने दर्जनौँ यात्रु अस्पतालका शय्यामा छटपटाइरहेका छन्।
नेचर हाउस एन्ड हर्ब इन्टरनेशनल कम्पनीका कर्मचारीहरू पिकनिक सकेर फर्किने क्रममा बा ४ ख ८७८८ नम्बरको बस शंखरापुर नगरपालिका–३ अन्तर्गत लप्सीफेदी जंगल क्षेत्रमा दुर्घटना भएको हो। जरसिंहपौवाबाट साँखुतर्फ आउँदै गर्दा बस अनियन्त्रित भई करिब ४० मिटर तल खसेपछि उद्धारमा ढिलाइ, साँघुरो र जोखिमपूर्ण सडक तथा निगरानीको अभावप्रति स्थानीय र यात्रुका आफन्तले आक्रोश व्यक्त गरेका छन्।
दुर्घटनामा गम्भीर घाइते भई उपचाररत काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने अन्दाजी ५५÷६० वर्षीय अर्जुन लामिछानेको गएराति साढे १२ बजे मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवन भट्टराईले जानकारी दिए।
यसअघि बाँकेको कोहलपुर नगरपालिका–५ घर भई हाल बुढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ पाथीभरा–५ घर भई हाल बुढानीलकण्ठ–७ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बु, सिराहा घर भई हाल पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता र पाँचथर घर भई हाल गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बुको उपचारकै क्रममा मृत्यु भएको थियो।
दुर्घटनामा घाइते ३३ जनामध्ये केहीको अवस्था अझै गम्भीर रहेको छ। उनीहरूको शंखरापुर अस्पताल, एनएमसी अस्पताल, स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटीलगायत विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ। उपचारपछि केही यात्रु डिस्चार्ज भए पनि अधिकांश अझै अस्पतालमै छन्।
यस सडकखण्डमा विगतमा पनि पटक–पटक दुर्घटना भइरहँदा समेत स्थायी समाधानतर्फ राज्य गम्भीर नदेखिएको आरोप लाग्दै आएको छ। साँघुरो मोड, जथाभावी सवारी सञ्चालन, चालकको लापरबाही र ट्राफिक निगरानीको कमजोरीले सर्वसाधारणको ज्यान लिइरहेको भन्दै पीडित पक्षले जिम्मेवारी तय गर्न माग गरेका छन्।

