गढीमाईमा बौलाहा कुकुरको आतंकः एकै दिन ४८ भन्दा बढी घाइते, पाँचको अवस्था गम्भीर
रौतहट — रौतहटको गढीमाई नगरपालिकामा बौलाहा कुकुरको आक्रमणले जनजीवन आतंकित बनेको छ। नगरपालिकाका विभिन्न वडामा एकैदिन ४८ भन्दा बढी सर्वसाधारण कुकुरको टोकाइबाट घाइते भएका छन्। घाइते हुनेमा बालबालिका, महिला तथा वृद्धवृद्धा रहेका छन्, जसले घटनाको गम्भीरता झनै बढाएको छ।
प्रादेशिक अस्पताल गौरका अनुसार कुकुरको टोकाइबाट घाइतेमध्ये टाउकोमा गहिरो चोट लागेका पाँच जनाको अवस्था संवेदनशील देखिएपछि थप उपचारका लागि वीरगन्ज रेफर गरिएको छ। बाँकी ४३ जनालाई एन्टी रेबिज भ्याक्सिन (एआरभी) दिइएको अस्पतालले जनाएको छ। अस्पताल प्रमुख डा. मुरारी ठाकुरका अनुसार अधिकांश घाइतेको गाला, हात र टाउकोमा चोट लागेको छ, जसले बौलाहा कुकुरको आक्रमण कति आक्रामक थियो भन्ने प्रष्ट देखाउँछ।
घटना गढीमाई नगरपालिकाका वडा नम्बर १, ४, ६ र ८ मा भएको हो। बाटोमा हिँडिरहेका सर्वसाधारणदेखि घरमै बसिरहेका बालबालिका र वृद्धवृद्धासम्मलाई कुकुरले झम्टेर टोकेको स्थानीयको भनाइ छ। एकपछि अर्को आक्रमण हुन थालेपछि नगरभर त्रासको वातावरण सिर्जना भएको छ।
बौलाहा कुकुरको जोखिमबारे जिल्ला प्रशासनलाई समेत जानकारी गराइसकिएको अस्पताल स्रोतले जनाएको छ। तर, घटनापछि पनि तत्काल र प्रभावकारी नियन्त्रणका उपाय नदेखिएको भन्दै स्थानीयले गुनासो गरेका छन्। नगरप्रमुख श्याम यादवले बौलाहा कुकुर नियन्त्रणका लागि प्रहरीसँग समन्वय गर्न अनुरोध गरिएको बताए। ‘बालबालिकालाई विद्यालय पठाउनसमेत अभिभावक डराइरहेका छन्, वृद्धवृद्धा घरबाहिर निस्कन सक्ने अवस्था छैन,’ उनले भने, ‘हामीले नागरिकलाई सचेत गराएका छौं, तर दीर्घकालीन समाधान आवश्यक छ।’
एकै दिन यति ठूलो संख्यामा नागरिक घाइते हुनु स्थानीय सरकार र सम्बन्धित निकायको तयारीमाथि गम्भीर प्रश्न खडा गर्ने घटना बनेको छ। समयमै बौलाहा कुकुरको पहिचान, नियन्त्रण र रोकथाममा ध्यान नदिँदा सामान्य देखिने समस्या जनस्वास्थ्य संकटमा परिणत भएको स्थानीयको भनाइ छ।

