मालाको तामझामअघि नै नापी प्रमुख यादवको गैरकानुनी खेलः औद्योगिक जग्गा काण्डको खुलासा

राजविराज– नयाँ कार्यालयमा हाकिमका रुपमा पदस्थापन हुँदै गर्दा किलो–किलोका मालासहित तामझाम र अतिशयोक्तिपूर्ण प्रदर्शन गरेका सप्तरीस्थित नापी कार्यालयका प्रमुख शत्रुधन यादवकले यसअघि नै एउटा गैरकानुनी काम भ्याईसकेको खुलासा भएको छ।

उनले किसिम (बिरह) परिवर्तन गरिएको औद्योगिक जग्गाको एकीकृत र कित्ताकाट गरेर विवाद निम्त्याएको खुलासा भएको हो। जग्गाको एकीकृत र कित्ताकाटको विवादपछि उनी २४ मंसिर २०८० मा नापी कार्यालयबाट सरुवा भएका थिए।

सोमबार पुनः कार्यालय प्रमुखका रूपमा हाजिर भएका उनलाई कर्मचारीलगायतले करिब २० किलोको मालाले स्वागत गरेपछि आलोचना सुरु भएको हो। नापी कार्यालयका सूचना अधिकारी राजुकुमार द्विवेदीले ती माला नागरिक समाजले लगाइदिएको बताए। तर, ति नागरिक समाजका मान्छे को थिए ? भन्ने उनले खुलाएनन्।

‘एक सय किलोको माला त होइन तर असामान्य चाहिँ हो,’ उनले भने, ‘नागरिक समाजले लगाइदिँदा हामीले कसरी रोक्न मिल्छ ? कर्मचारीले त्यो माला लगाइदिएको होइन ।’ यसअघि १९ कार्तिक ०७७ मा नापी प्रमुखका रूपमा आएका यादवले ३० चैत २०७९ मा जिल्लाको राजविराज नगरपालिका–२ (साविक वडा नम्वर ९) स्थित ९ बिघा १ कठ्ठा पौने १६ धुर मिल्स, मिल्स एरिया र इँटाभट्टाको जग्गा आवासीय क्षेत्रका लागि एकीकृत गरेका थिए भने सो एकीकृत जग्गालाई पुनः कित्ताकाट गरी प्लटिङ गरिएको छ ।

भू–उपयोग नियमावली, २०७९ को परिच्छेद–३ को नियम ११ बमोजिम भू–उपयोग परिवर्तनका लागि तीनै तह (स्थानीय, प्रदेश र संघ भू–उपयोग परिषद्) को निर्णय आवश्यक रहेको उल्लेख छ । स्थानीय भू–उपयोग परिषद्मा आएको निवेदन प्रदेशलाई पठाउनुपर्ने र प्रदेश परिषद्ले उपयुक्त ठानेमा संघमा पठाउनुपर्ने छ । संघको परिषद्ले निर्णय गरेमा मात्र उक्त जग्गाको वर्गीकरण परिवर्तन हुने व्यवस्था छ ।

तर, स्थानीय तहको सिफारिसमा भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका खरिदार रूपेशकुमार यादवले सोझै टिप्पणीमा मालपोत ऐन, २०३६ को नियम ५ (क) बमोजिम उक्त जग्गामा लेखिएको मिल्स, मिल्स एरिया तथा इँटाभट्टा कट्टा संशोधन, कट्टा गरी आवादी कायम गर्दा मुनासिव हुने लेखेर निर्णयार्थ पेस गरेका थिए । सोअनुसार हुँदै नभएको ऐनलाई टेकेर मालपोतका तत्कालीन निमित्त कार्यालय प्रमुख नायब सुब्बा रामनारायण शर्माले सदर गरी जग्गालाई आवासीय क्षेत्र बनाएका थिए।

टिप्पणीअनुसार साबिक राजविराज नगरपालिका–९ कित्ता नं.१३२८ को १ बिघा १५ कठ्ठा पौने २ धुर, कित्ता नं.१३३४ को १ बिघा, १३२६ को २ कठ्ठा २ धुर, १३३० को १ बिघा, १३३९ को ७ कठ्ठा २ धुर, १३२५ को ३ कठ्ठा पौने १६ धुर, १३२७ को १२ कठ्ठा ८ धुर, १३३५ को ४ कठ्ठा ३ धुर, १३३६ को ३ कठ्ठा ८ धुर, १३३७ को १ बिघा, १३२४ को १ बिघा, १३३१ को १७ कठ्ठा साढे ४ धुर, १३३८ को १६ कठ्ठा १२ धुर गरी १० बिघा ४ धुर जग्गालाई आवासीय क्षेत्रमा परिवर्तन गरिएको हो।

उक्त जग्गाको कित्ता नं.१३२८, १३२६, १३३०, १३२५, १३२७, १३२४ र १३३१ मा मिल्स एरिया रहेको छ भने कित्ता नं.१३३४,१३३९, १३३५, १३३६, १३३७ र १३३८ इट्टा भट्टा रहेको टिप्पणीमा उल्लेख छ । हाल ती विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । ती विषयमा बुझेर थप प्रतिक्रिया दिन सक्ने आयोगका प्रवक्ता सुरेश न्यौपानेले बताएका छन्।

यो पनि,

सप्तरीः जमिन नाप्ने कार्यालयमा हाकिमको घाँटी नापियो— सय किलोको माला र चाकडी शासनको वास्तविक तस्वीर (फोटो फिचर)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट