बालेन साहको विवादित यात्राः बालबालिकासम्मको अपमान, समर्थकहरूको निराशा र मधेशको आत्मसम्मानमाथि चोट

राजविराज — आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित मधेश यात्रा गर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’को सप्तरी अभियान विवादको केन्द्रबिन्दु बनेको छ। परिवर्तन, नयाँ राजनीतिक शैली र जनताको नजिक पुग्ने दाबीका बीच उनले राजविराजको गजेन्द्र चोकमा बालबालिकासम्मलाई अपमान गरेको खुलेको छ।

स्थानीय रास्वपा नेता तथा कार्यकर्ताले बालेनको स्वागतका लागि गजेन्द्र नारायण सिंहको शालिक अगाडि विभिन्न भेषभुषा लगाएका बालबालिकालाई फूलमालासहित तयारी गराएका थिए। बालबालिकाहरू घण्टौँ प्रतीक्षारत रहे, समर्थकहरू उनीसँग हात मिलाउन र कुरा सुन्न आतुर थिए। तर बालेन गाडीबाट ओर्लिएनन्। सनरुफबाटै माला फ्याँक्दै अघि बढे। स्थानीयले यसलाई सम्मानको सट्टा अपमानको संकेत मानेका छन्।

विशेषगरी मधेशजस्तो संवेदनशील भूगोलमा, गजेन्द्र नारायण सिंहको शालिक राजनीतिक औपचारिकता मात्र नभई भावनात्मक स्मृतिको केन्द्र पनि हो। त्यहाँ गाडीबाट झरेर श्रद्धाञ्जली अर्पण गर्नु परम्परा मानिन्छ। तर बालेनले गाडी नरोकी माला फ्याँक्ने शैली अपनाउँदा समर्थकहरू असहज भए। कतिपयले यसलाई ‘मधेशको आत्मसम्मानमाथि चोट’ भन्दै खुलेर आलोचना गरेका छन्।

आयोजनाकारले चुनावी प्रचारमा बालबालिकालाई प्रयोग गर्नु कानूनी दृष्टिले र निर्वाचन आचारसंहिता विपरित भएको विषयमा समेत प्रश्न उठिरहेको छ। बालबालिकाहरूलाई घण्टौँ उभ्याइराख्नु, उनीहरूको अपेक्षा नपुर्याउनु र प्रत्यक्ष संवाद नगर्नुले नेतृत्वको शैलीमाथि गम्भीर आलोचना पैदा गरेको छ।

कार्यक्रमअनुसार शालिकमा माल्यार्पणपछि बालेन पार्टी कार्यालयतर्फ जाने तालिका थियो। तर गाडी त्यहाँसमेत रोकिएन। समर्थकहरू कार्यालय अगाडि प्रतीक्षारत भए। पछि होटलमा खाना खाएर फर्किने चर्चा चले पनि उनी हुलाकी सडक हुँदै पश्चिमतर्फ लागे। परिणामस्वरूप, उपस्थित समर्थकहरू निराश भएर फर्किन बाध्य भए।

सिरहामा पनि अवस्था उस्तै देखियो। ठिक २ बजेर २९ मिनेटमा बालेन मिर्चैयामा पुगे। पूर्वपश्चिम राजमार्ग हुँदै हुलाकी सडकको यात्रा गरेर पुगेका उनले समर्थकहरूलाई गाडीबाटै अभिवादन गरे। दुई घण्टासम्म प्रतीक्षारत समर्थकहरूको निराशा स्पष्ट देखियो। ‘हामी उहाँसँग कुरा गर्न र क्षेत्रीय धारणा बुझ्न आएका थियौं, तर उनी रोकिन पनि सकेनन’ रामेन्द्र यादवले भने।

सामाजिक अगुवाहरूले पनि यो शैली उचित नभएको टिप्पणी गरेका छन्। ‘सयौं समर्थक पर्खिरहेका थिए तर बालेनको गाडी रोकिएन। उनी नेता कि सेलिब्रेटी भन्ने भ्रम भयो,’ सिरहाका जितेश कर्णले भने।

यस घटनाक्रमले बालेनको अभियानलाई केवल दृश्यात्मक मात्र बनाएको छ। सम्बन्ध र विश्वास निर्माण भने अधुरो रहेको देखिन्छ। बालबालिकाको उपेक्षा, समर्थकहरूको निराशा र शालिकमा उचित सम्मान नदेखाउनुले रास्वपाको नयाँ राजनीतिक शैलीको दाबीमाथि नै प्रश्न उठाएको छ।

भीडीओ हेर्न यहाँ क्लिक गर्नुहोस।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट