आशिका तामाङको आफ्नै टाउकोमा आईलाग्यो ‘प्रकाश बोहोराको जुत्ता’को राजनीतिः भीडीओ भाईरल
काठमाडौँ— सामाजिक सञ्जाल फेसबूकमा यतिबेला एउटा भीडीओले नयाँ राजनीतिक तरंग सिर्जना गरेको छ। धादिङ–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टिकटमा निर्वाचित सांसद आशिका तामाङको उक्त भीडीओ निर्वाचनअघि रेकर्ड गरिएको हो। तर, भीडीओको चर्चा अहिले भईरहेको छ।
यो भीडीओ सार्वजनिक हुनु पूर्व आशिका तामाङ स्वयम् रास्वपाको उम्मेदवार बन्ने चर्चासमेत थिएन। रास्वपाले आफुलाई समानुपातिकमा नसमेटेको रिस फेर्न उनले भीडीओ वनाएको स्पष्ट हुन्छ। भीडीओमा तामाङले रास्वपाले चयन गरेका उम्मेदवारहरूमाथि तीखा टिप्पणी गर्दै पार्टीको निर्णय प्रक्रियामाथि प्रश्न उठाएकी थिईन।
जेनजी आन्दोलनका क्रममा गोली लागेका प्रकाश बोहोराको रगतले लतपतिएको जुत्ता त्यसबेला आन्दोलनको प्रतीक बनेको थियो, जसलाई आधार बनाएर आशिकाले ‘जुत्ताको राजनीति’ भन्दै कटाक्ष गरेकी थिइन्।
भीडीओमा उनले आक्रामक शैलीमा भनेकी छन्, ‘उसको जुत्ता सडकमा, त्यो जुत्ता बनाउने गोल्डस्टारकी मालिक्नीचाहिँ सदनमा। ल हेर्नुस्, देशको हविगत— जुत्ता लगाउने सडकमा, जुत्ता बनाउने सदनमा। देख्नुभयो नि जुत्ताको राजनीति!’ उनको यो अभिव्यक्ति स्पष्ट रूपमा गोल्डस्टार जुत्ताकी मालिक्नी विदुषी राणालाई लक्षित थियो, जसलाई रास्वपाले समानुपातिक सांसद बनाएको थियो।
विडम्बना के छ भने, अहिले आशिका तामाङ आफैं त्यही दलबाट निर्वाचित सांसद बनेकी छन्, जहाँ विदुषी राणा पनि समानुपातिकतर्फबाट संसदमा प्रतिनिधित्व गरिरहेकी छन्। हिजो सार्वजनिक रूपमा आलोचना गरेको पात्रसँग आज एउटै संसदीय दलभित्र सहकार्य गर्नुपर्ने अवस्था सिर्जना हुँदा यो भीडीओ झन् संवेदनशील बनेको छ।
यसबीच, पाँचतारे होटलमा आयोजित रास्वपाको अभिमुखीकरण कार्यक्रममा आशिका र विदुषी एकै स्थानमा देखिनुले पनि परिस्थितिको विडम्बनालाई थप उजागर गरेको छ।
सार्वजनिक स्थलमा पिसाव गर्ने ब्यक्तिलाई लखेट्ने र अनुशासन कायम गराउने अभियानबाट ‘अभियन्ता’को छवि बनाएकी आशिका तामाङको यात्रा छोटो समयमै सडकबाट संसदसम्म पुगेको छ। तर उनको विगतका विवादहरूले भने निरन्तर पछ्याइरहेका छन्। हाइवे आसपासका रेष्टुरेण्टमा महँगो मूल्यका विषयमा व्यवसायीहरूलाई सार्वजनिक रूपमा धम्क्याउनेदेखि लिएर सांसद निर्वाचित भएपछि दिएका निर्देशनहरूसम्म, उनको शैलीले पटक–पटक विवाद निम्त्याउँदै आएको छ।
उता, विदुषी राणाले कार्यक्रममा प्रयोग गरेको महँगो टेस्ला गाडीको चर्चा अझै सेलाएको छैन, जसले आशिकाको पुरानो ‘जुत्ताको राजनीति’ अभिव्यक्तिलाई पुनः चर्चामा ल्याएको छ। यो घटनाले केवल व्यक्तिगत अभिव्यक्ति र वर्तमान भूमिकाबीचको द्वन्द्व मात्र होइन, राजनीतिक दलहरूको उम्मेदवार छनोट प्रक्रिया, विचार र व्यवहारबीचको अन्तर, र सार्वजनिक छविको निरन्तरतामाथि पनि गम्भीर प्रश्न उठाएको छ।
सामाजिक सञ्जालको युगमा विगतका अभिव्यक्तिहरू कुनै पनि बेला पुनः सतहमा आउन सक्ने र त्यसले वर्तमान राजनीतिक भूमिकालाई प्रभावित पार्न सक्ने यो प्रकरणले स्पष्ट देखाएको छ। अन्ततः, आशिका तामाङको यो भाइरल भीडीओले एउटा महत्वपूर्ण सन्देश दिएको छ— राजनीति केवल वर्तमानको खेल होइन, विगतका शब्द र धारणा पनि सँगै हिँड्ने स्थायी अभिलेख हुन।
