इनिशा विक मृत्यु प्रकरणमा विरोधाभासः सहमतिको सम्बन्ध कि संगठित अपराध?

काठमाडौँ– सुर्खेतको वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनभित्र अचेत अवस्थामा भेटिएकी १६ वर्षीया किशोरी इनिशा विकको मृत्यु प्रकरणले अहिले जटिल कानुनी र सामाजिक बहसको रूप लिएको छ। घटनाको प्रारम्भिक विवरण, अनुसन्धान निष्कर्ष र अभियुक्तहरूको बयानबीच देखिएको गहिरो विरोधाभासले यो प्रकरणलाई अझ संवेदनशील बनाएको छ।

यही विरोधाबासबीच जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतले चार जना नाबालकविरुद्ध जबर्जस्ती करणी गरी ज्यान मारेको अभियोगमा अदालतमा मुद्दा दायर गरेको छ। सँगै अब न्यायिक प्रक्रियाले सत्य के हो भन्ने टुंगो लगाउनेछ।

जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको संयुक्त टोलीले करिब उन्नाइस दिन लामो अनुसन्धानपछि प्रतिवेदन बुझाएको थियो। त्यसकै आधारमा सरकारी वकिल कार्यालयले मुलुकी अपराध संहिता २०७४ अन्तर्गत जबर्जस्ती करणी र कर्तव्य ज्यानको गम्भीर कसुरमा अभियोगपत्र दायर गरेको हो। अभियोगपत्रमा चारै जना नाबालकले सामूहिक रूपमा बलात्कार गरी ज्यान मारेको ठहर गर्दै आजीवन कैदसम्मको सजाय माग गरिएको छ।

तर, मुख्य अभियुक्त भनिएका किशोरले अनुसन्धान अधिकारीसमक्ष दिएको बयानमा आफू र मृतकबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको र घटनाको दिन पनि सहमतिमै शारीरिक सम्बन्ध राखिएको दाबी गरेका छन्। उनका अनुसार सम्बन्ध राख्ने क्रममा अचानक अत्यधिक रक्तश्राव भएपछि किशोरी बेहोस भएको र आफूले उनलाई बचाउन सक्दो प्रयास गरेको तर सफल हुन नसकेको बताएका छन्।

बयानमा उनले घटना हुनुअघि भएका तयारीहरू समेत विस्तारमा उल्लेख गरेका छन्। चार वर्षदेखि एउटै विद्यालयमा पढ्दै आएका उनीहरूबीच सम्बन्ध विकसित भएको, ह्वाट्सएपमार्फत नियमित संवाद हुँदै आएको र यसअघि पनि सहमतिमा सम्बन्ध राखिएको उनको दाबी छ। घटनाको अघिल्लो दिन किशोरीकै आग्रहमा उनले चुरा र गजरा किनेका थिए भने घरमै केक तयार गरेका थिए। भोलिपल्ट बिहान उनीहरू भेटेर जंगलतर्फ गएका र त्यहीँ एकान्त स्थानमा पुगेपछि सम्बन्ध राख्ने क्रममा अप्रत्याशित रूपमा रक्तश्राव सुरु भएको उनले बताएका छन्।

उनले किशोरी बेहोस भएपछि छाती थिचेर सास दिनेदेखि खुट्टा मालिस गर्नेसम्मका प्रयास गरेको तर अवस्था सुधार नभएपछि साथीहरूलाई बोलाएको बताएका छन्। साथीहरू घटनास्थलमा पुगेपछि भने कसैले पनि उनलाई छुन नमानेको र अन्ततः परिवारलाई खबर गर्ने निर्णय गरिएको उनको भनाइ छ।

तर सरकारी वकिलको अभियोगपत्रले भने यो बयानलाई स्वीकार गरेको छैन। अभियोगपत्रमा घटनालाई सामूहिक बलात्कारपछि हत्या भएको ठहर गरिएको छ। मुलुकी अपराध संहिता २०७४ को दफा २१९ र दफा १७७ अन्तर्गत गम्भीर कसुर स्थापित भएको उल्लेख गर्दै कडा सजायको माग गरिएको छ। साथै पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन पनि माग गरिएको छ।

घटनाको चिकित्सा पक्षले पनि विवादलाई झन् गहिरो बनाएको छ। पोस्टमार्टम रिपोर्टमा यौनांगको भित्री भागमा गहिरो चोट लागेर अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको उल्लेख गरिएको छ। तर यो रिपोर्टमा पनि पीडित परिवार सन्तुष्ट छैन। उनीहरूले सुरुदेखि नै घटनामा शंका व्यक्त गर्दै आएका छन् र अनुसन्धान निष्पक्ष नभएको आरोप लगाएका छन्।

घटनापछि झण्डै तेइस दिनसम्म शव अस्पतालमै राखिएको छ। परिवारले न्याय सुनिश्चित नभएसम्म शव नबुझ्ने अडान लिएको छ। आइतबार जिल्ला अदालत अगाडि आफन्त र स्थानीयले धर्ना दिँदै निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। उनीहरूको आरोप छ—अनुसन्धानले वास्तविकता लुकाउन खोजेको छ र प्रभावका आधारमा मुद्दालाई मोड्न खोजिएको छ।

इनिशाका बुबा विदेशबाट फर्केर छोरीको न्यायका लागि संघर्ष गरिरहेका छन् भने आमाले पोस्टमार्टम रिपोर्टमै गम्भीर शंका उठाएकी छन्। परिवारको पीडा र अविश्वासले यो प्रकरण केवल आपराधिक घटना मात्र नभई न्याय प्रणालीप्रतिको भरोसाको परीक्षा बनेको छ।

अब अदालतमा दायर भएको मुद्दाले यो बहसलाई औपचारिक कानुनी प्रक्रियामा प्रवेश गराएको छ। एकातिर अभियुक्तहरूको सहमतिको दाबी, अर्कोतिर सामूहिक बलात्कारपछि हत्या भएको सरकारी निष्कर्ष। यी दुई ध्रुवबीचको सत्य के हो भन्ने प्रश्नको उत्तर अब न्यायालयले दिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट