रोलकलमै अचानक ढलेका हवल्दार सहनीको उपचारकै क्रममा मृत्यु

विराटनगर— ड्युटीको नियमित प्रक्रिया अन्तर्गत भइरहेको रोलकलकै क्रममा अचानक बिरामी परेका नेपाल प्रहरीका एक हवल्दारको उपचारकै क्रममा मृत्यु भएको छ। विराटनगर महानगरपालिका–६ का स्थायी बासिन्दा हवल्दार बैजुकुमार सहनीको आइतबार साँझ निधन भएको जिल्ला प्रहरी कार्यालय मोरङले पुष्टि गरेको छ।

प्राप्त विवरण अनुसार भोजपुरस्थित प्रहरी चौकी दोभाने देउराली दरबन्दी रहेका सहनी हाल कोशी प्रदेश प्रहरी गण विराटनगरमा सवारी चालकका रूपमा कार्यरत थिए। आइतबार साँझ करिब ७ बजेर ३० मिनेट जाँदा गणका प्रमुख एसपीबाट नियमित रोलकल लिइँदै गर्दा सहनीले अचानक पेट दुखेको गुनासो गरेका थिए। सामान्य असहजता ठानिएको अवस्था केही क्षणमै गम्भीर बनेपछि उनलाई तत्काल उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएको थियो।

अस्पतालमा उपचार जारी रहँदा पनि उनको अवस्था सुधार हुन सकेन र राति करिब ९ बजेर २० मिनेट जाँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार सहनीको स्वास्थ्य अवस्था अचानक बिग्रिएको थियो र उद्धारमा कुनै ढिलाइ नगरिएको बताइएको छ।

घटनापछि जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर बद्री दाहालको नेतृत्वमा खटिएको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पु¥याएको छ। पोस्टमार्टमपछि शव परिवारलाई जिम्मा लगाइने र सम्मानसहित अन्त्येष्टि गरिने तयारी गरिएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीको परम्परा अनुसार सहनीको पार्थिव शरीरमा झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरिनेछ। दाहसंस्कारअघि कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले औपचारिक रूपमा झन्डा अर्पण गर्ने कार्यक्रम तय गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट