‘एमबिबिएस ठगी’ प्रकरणमा प्रश्न उठेपछि कुर्सी छोडेरै भागे मन्त्री साह
काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक साहसँग सम्बन्धित एक भिडियो यतिबेला सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ। जसले उनको सार्वजनिक उत्तरदायित्वमाथि गम्भीर प्रश्न खडा गरेको छ।
मन्त्रालयमै आयोजित औपचारिक पत्रकार सम्मेलनका क्रममा सोधिएको एक संवेदनशील प्रश्नबाट उनी जवाफ नदिई अचानक उठेर बाहिरिएको दृश्यले राजनीतिक वृत्तमा तरंग पैदा गरेको हो। घटना हिजो (बुधबार) मन्त्रालय परिसरमै भएको हो। जहाँ नियमित पत्रकार सम्मेलन चलिरहेको थियो।
त्यसैबेला एक पत्रकारले मन्त्री साहसँग सीधा प्रश्न गरे— एमबिबिएसमा पास गराइदिने भन्दै रकम असुली गरेको आरोपमा पक्राउ परेका ‘दीपककुमार साह’ तपाईं नै हो कि होइन ? यो प्रश्नले हलको वातावरण एकाएक गम्भीर बनाएको थियो। मन्त्री साहले सुरुमा संयमित देखिने प्रयास गर्दै संक्षिप्त जवाफ दिए—यदि त्यस्तो आरोपमा सत्यता भएको भए म आज यस स्थानमा हुँने थिईन।
तर, पत्रकारले त्यसपछि प्रतिप्रश्न गर्दै नेपाल प्रहरीकै अनुसन्धान गलत थियो त भन्ने जिज्ञासा राखेपछि स्थिति झन् असहज बन्यो। यही क्षणमा मन्त्री साहले कुनै थप स्पष्टीकरण नदिई कुर्सीबाट जुरुक्क उठेर हल छाडेको दृश्य सार्वजनिक भिडियोमा स्पष्ट देखिन्छ। उनी बिना जवाफ बाहिरिएपछि उपस्थित पत्रकारहरू र अन्य सहभागीबीच आश्चर्य र असन्तुष्टि दुवै देखिएको थियो।
प्रधानमन्त्री बालेन्द्र (बालेन) साहनिकट मानिने मन्त्री साह महोत्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्। उनीमाथि विगतमा एमबिबिएस परीक्षा पास गराइदिने भन्दै ठगी गरेको आरोप लागेको थियो, जसका आधारमा तत्कालीन वल्र्ड वाइड कन्सल्टेन्सीका सञ्चालकको हैसियतमा उनी पक्राउ परेका थिए। पछि सोही मुद्दामा अदालतबाट सफाइ पाए पनि विवाद भने पूर्ण रूपमा साम्य भएको थिएन।
अहिले उनी मन्त्री बनेसँगै पुरानो प्रकरण पुनः सतहमा आएको छ र सामाजिक सञ्जालमा त्यसबारे तीव्र टिप्पणी भइरहेको छ। सार्वजनिक पदमा बसेका व्यक्तिले यस्ता गम्भीर आरोपबारे स्पष्ट र पारदर्शी जवाफ दिनुपर्ने अपेक्षा रहन्छ, तर पत्रकार सम्मेलनमै उठेको प्रश्नबाट मन्त्रीको प्रत्यक्ष पलायनले उल्टै शंका र आलोचना थप बढाएको देखिन्छ।
