सडक निर्माणमै अवरोध, घुस माग्ने सशस्त्र प्रहरी इन्स्पेक्टर रंगेहात पक्राउ
जनकपुर— सार्वजनिक निर्माण कार्यमा अवरोध सिर्जना गर्दै घुस असुलीमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीका एक निरीक्षक रंगेहात पक्राउ परेका छन्। धनुषाको लालगढ क्षेत्रबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई नगदसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सशस्त्र प्रहरी निरीक्षक ओकिल अधिकारी छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले आज बिहान उनलाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानअनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत भइरहेको माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरूलाई रोकेर अनावश्यक अवरोध सिर्जना गर्ने र त्यसबापत रकम माग्ने गरेको उजुरीका आधारमा अख्तियारले निगरानी थालेको थियो।
लामो समयदेखि निगरानीमा राखिएको उक्त गतिविधि अन्ततः आज प्रमाणसहित पक्राउमा परिणत भएको हो। स्रोतका अनुसार निर्माण कार्य सुचारु राख्नुपर्ने जिम्मेवारीमा रहेका अधिकारीबाटै अवरोध सिर्जना गरी घुस मागिएको विषयले स्थानीय तहदेखि निर्माण क्षेत्रमा संलग्न पक्षसम्म असन्तुष्टि फैलिएको थियो।
सडकजस्तो अत्यावश्यक पूर्वाधार निर्माणमा संलग्न परियोजनामा बाधा पु¥याउँदै व्यक्तिगत लाभ लिन खोजिएको घटनाले राज्य संयन्त्रको कार्यक्षमतामाथि नै प्रश्न उठाएको छ। विकास निर्माणका काममा सुरक्षाकर्मीबाटै अवरोध सिर्जना हुनु केवल अनुशासनहीनता मात्र नभई प्रणालीगत कमजोरीको संकेतका रूपमा पनि हेरिएको छ।
अख्तियारले पक्राउ परेका निरीक्षक अधिकारीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।
