सुनसरीमा नाबालिका बलात्कारका अभियुक्त ९ वर्षपछि पक्राउ

इटहरी– सुनसरीमा बलात्कार कसुरमा अदालतबाट दोषी ठहर भइसकेपछि लामो समयदेखि फरार रहेका एक अभियुक्त पक्राउ परेका छन्।

धरान उपमहानगरपालिका–८ का २७ वर्षीय सानु राई उर्फ विश्वजित चाम्लिङलाई करिब ९ वर्षपछि प्रहरीले पक्राउ गरेको हो। जिल्ला अदालत सुनसरीबाट सजाय सुनाइएपछि फरार रहेका उनलाई वडा प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले आफ्नै निवासबाट पक्राउ गरेको हो।

वरिष्ठ सई आरके दाहालको नेतृत्वमा परिचालित टोलीले गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो। चाम्लिङविरुद्ध धरान–८ की १४ वर्षीया नाबालिकामाथि बलात्कार गरेको अभियोगमा मुद्दा दायर गरिएको थियो।

सोही मुद्दामा जिल्ला अदालत सुनसरीले २०७३ साल भदौ १६ गते उनलाई दोषी ठहर गर्दै ११ वर्ष कैद सजाय सुनाएको थियो। तर फैसला लगत्तै उनी फरार भई लामो समयसम्म कानुनी कारबाहीबाट उम्किँदै आएका थिए।

प्रहरीका अनुसार फरार अवधिभर उनले आफूलाई लुकाउँदै विभिन्न स्थानमा बसोबास गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। तर पछिल्लो समय उनी आफ्नै घर फर्किएको सूचना पाएपछि निगरानी बढाइएको थियो।

त्यसै क्रममा उनलाई पक्राउ गर्न सफल भएको सुनसरीका एसपी केशवकुमार थेबेले जानकारी दिएका छन्। उनलाई जिल्ला अदालत सुनसरीमा बुझाइएको छ। अब अदालतको आदेशअनुसार उनलाई तोकिएको कैद सजाय कार्यान्वयनतर्फ लैजाने प्रक्रिया अघि बढ्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट