वीरगञ्जमा कुटपिट गरी हत्या गरिएका युवक सप्तरीमा कार्यरत प्रहरी जवान भएको खुलासा

वीरगञ्ज– पर्साको वीरगन्जमा आईतबार हत्या गरिएको २८ वर्षीय विकास चौरसिया प्रहरी जवान रहेको खुलेको छ। उनी जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत थिए।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरिबहादुर बस्नेतका अनुसार, वीरगन्ज महानगरपालिका–९ मुर्लीस्थित फिरोज मियाको घरमा कुटपिट गरी उनको हत्या गरिएको थियो। गम्भीर घाइते अवस्थामा रहेको सूचना पछि पुगेको प्रहरीले चौरसियाको शरीरको विभिन्न भागमा धारिलो हतियारले प्रहार गरीएको अवस्थामा फेला पारेको थियो।

अत्यधिक रक्तश्राव भई गम्भीर घाइते अवस्थामा फेला परेका उनलाई तत्कालै उपचारार्थ नारायणी अस्पताल लगिएको थियो। तर, चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीले घटनामा संलग्न रहेको आशंका तत्कालै ४ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहटका २६ वर्षीय सन्तोष साह, उनकी पत्नी २४ वर्षीया सोनी साह। बाराका १९ वर्षीय विशाल साह र भारतीय नागरिक १९ वर्षीय कन्हैया कुमार छन्। घटना कसरी भयो भन्ने खुलीसकेको छैन।

पर्सा कालिकामाई गाउपालिका–१ घर भएका प्रहरी जवान चौरसिया वीरगन्जको मुर्लीमै डेरा गरी बस्थे । उनी १० दिनको बिदा लिई वीरगन्ज पुगेका थिए। स्थानीयका अनुसार घटनास्थलमा दिउँसोदेखि नै शंकास्पद गतिविधि देखिएको थियो। घरभित्र अनौठो चहलपहल, ठूलो स्वरमा बजाइएको संगीत र लगातार सुनिएको झगडाजस्तो आवाजले छिमेकीहरू सतर्क भएका थिए।

एक बालकले बरण्डाबाट हेर्दा केही व्यक्तिहरू मिलेर एक युवकलाई कुटपिट गरिरहेको दृश्य देखेपछि घटनाको बारेमा चासो वढेको थियो। त्यसपछि स्थानीयले बारम्बार ढोका खोल्न आग्रह गरे पनि भित्रबाट ढोका बन्द गरिएको कारण तत्काल चौरसियाको उद्धार हुन सकेन। स्थिति नियन्त्रण बाहिर जान सक्ने आशंकामा स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोली घटनास्थल पुगेपछि मात्र ढोका खोलिएको थियो।

त्यसअघि शंकास्पद व्यक्तिहरूलाई स्थानीयले घेराबन्दीमा राखेका थिए भने केही भाग्ने प्रयास गर्दा स्थानीय युवाहरूले लखेटेर पक्राउ गर्न सहयोग गरेका थिए। प्रारम्भिक अनुसन्धानमा घरभित्र चर्को आवाजमा म्युजिक बजाई चौरसियालाई कुटपिट गरिएको देखिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट