शंकर पोखरेल र विष्णु पौडेललाई ‘साइज’मा राख्न केपी ओलीको ‘विद्या कार्ड’

काठमाडौँ — नेकपा एमालेभित्र लामो समयदेखि दबेर रहेको उत्तराधिकारी राजनीतिले अन्ततः खुला आकार लिन थालेको छ। गुण्डुमा सम्पन्न एमाले सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पुनः पार्टी सदस्यता दिने निर्णय गरेसँगै एमालेभित्रको शक्ति–सन्तुलन नयाँ मोडमा पुगेको छ।

अझ चासोको विषय के बनेको छ भने, लामो समयसम्म विद्याको सक्रिय पुनरागमनप्रति अनिच्छुक देखिएका अध्यक्ष केपी शर्मा ओली नै अचानक उनलाई पार्टीमा फर्काउने प्रस्तावका प्रमुख सूत्रधार बने। यो निर्णयले अहिले एमालेभित्र राजनीतिक तरंग मात्रै होइन, गहिरो रणनीतिक पुनर्संरचनाको बहस सुरु भएको छ।

एमाले वृत्तमा अहिले एउटा प्रश्न तीव्र रूपमा उठिरहेको छ— ओलीले विद्या भण्डारीलाई केवल पुरानो नेताको रूपमा फर्काएका हुन्, कि पार्टीभित्र उदाउँदै गएको उत्तराधिकारी शक्ति–धारलाई नियन्त्रण गर्न ‘विद्या कार्ड’ प्रयोग गरेका हुन् ? सचिवालय बैठकको घटनाक्रम, त्यसअघि भएका गोप्य छलफल र पछिल्ला आन्तरिक संकेतहरू हेर्दा धेरै नेताहरू दोस्रो निष्कर्षतर्फ झुकेको देखिन्छन्।

बैठकमा विद्याको सदस्यताको वैधानिकताबारे सांकेतिक प्रश्न उठाइयो। केही नेताहरूले राष्ट्रपति हुँदा उनको पार्टी सदस्यता कायम थियो कि स्थगित मात्रै गरिएको थियो भन्ने जिज्ञासा राखे। अरूले अहिले दिइएको सदस्यता नयाँ हो कि पुरानै निरन्तरता हो भन्ने प्रश्न उठाए। तर, कुनै पनि नेताले खुला रूपमा ‘सदस्यता दिनु हुँदैन’ भन्ने साहस गरेनन्। रामबहादुर थापा, गोकर्ण विष्ट र लेखराज भट्ट मौन बसे भने बाँकी अधिकांश नेताहरूले कुनै न कुनै रूपमा चासो व्यक्त गरेका थिए।

त्यसक्रममा अध्यक्ष ओलीले विधान र विद्याको पत्र देखाउँदै छोटो जवाफ दिए—‘हेर्नुस्, यसमा स्पष्ट लेखिएको छ।’ तर, के स्पष्ट थियो भन्नेबारे उनले विस्तृत व्याख्या गरेनन्, न त बैठकमा कसैले थप कोट्यायो। एमालेभित्र धेरैले त्यसलाई केवल वैधानिक जवाफ नभएर राजनीतिक संकेतका रूपमा बुझे।

यसअघि विद्या भण्डारीले आफू २०३७ सालदेखि माले हुँदै एमालेको विभिन्न तहमा सक्रिय रहेको, केन्द्रीय सदस्य र उपाध्यक्षसम्म बनेको तथा राष्ट्रपति भएपछि मात्रै तटस्थताका लागि पार्टी राजनीतिबाट अलग भएको बताउँदै आएकी थिइन्। अब पुनः सक्रिय राजनीतिमा फर्किने निर्णय गरेको उनको सन्देश पार्टीभित्र धेरै पहिलेदेखि घुम्न थालेको थियो। तर, त्यसको औपचारिक बाटो खुलाउने काम भने ओली आफैंले गरिदिए।

यही बिन्दुबाट एमालेभित्रको वास्तविक राजनीतिक अर्थ खोजिन थालेको छ। किनकि महासचिव शंकर पोखरेल विद्याको पुनरागमनका पक्षमा थिएनन् भन्ने कुरा पार्टीभित्र गोप्य थिएन। सदस्यता नवीकरण गर्न नहुने मत राख्ने नेताहरूको अग्रपंक्तिमा उनी रहेको चर्चा एमाले वृत्तमै हुँदै आएको थियो। शंकर समूहको बुझाइ थियो—विद्या सक्रिय राजनीतिमा फर्किएपछि पार्टीभित्र अर्को शक्तिकेन्द्र बन्नेछ, जसले भविष्यको नेतृत्व बहसलाई थप जटिल बनाउनेछ।

तर, ओलीले अन्तिम क्षणमा सबै समीकरण उल्ट्याइदिए। स्रोतहरूका अनुसार जेठ १ गते गुण्डुमा ओली र विद्याबीच करिब तीन घण्टा लामो गोप्य छलफल भएको थियो। त्यसपछि बस्ने भनिएको सचिवालय बैठक अचानक सारियो र नयाँ तयारीसहित हिजोका लागि बोलाइयो। एमालेभित्र अहिले व्यापक रूपमा चर्चा छ—त्यही भेटपछि ओली नयाँ निष्कर्षमा पुगेका हुन्।

ओली निकट नेताहरूको बुझाइमा पछिल्लो समय पार्टीभित्र दुई समानान्तर शक्ति रेखा विस्तारै नजिकिन थालेका थिए। उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच बढ्दो समन्वयले भविष्यको उत्तराधिकारी बहसलाई नयाँ दिशा दिन सक्ने संकेत देखिएको थियो। यदि यी दुई नेता एउटै लाइनमा उभिए भने पार्टीभित्र ओलीको एकल नियन्त्रण कमजोर हुन सक्ने आन्तरिक आकलनपछि उनले नयाँ राजनीतिक चाल चालेको विश्लेषण हुन थालेको छ।

त्यही कारण अहिले एमालेभित्र ‘विद्या कार्ड’ लाई धेरै नेताहरूले ‘काउन्टर ब्यालेन्स’ रणनीतिका रूपमा व्याख्या गरिरहेका छन्। अर्थात्, विष्णु–शंकर समीकरणलाई सन्तुलनमा राख्न ओलीले अर्को शक्तिकेन्द्र सक्रिय बनाइदिएका छन्। यसले स्पष्ट सन्देश दिएको छ—एमालेभित्र अन्तिम निर्णायक शक्ति अझै ओली नै हुन् र उत्तराधिकारी कसलाई बनाउने भन्ने खेलको चाबी पनि उनकै हातमा छ।

विद्या भण्डारीको पुनरागमनसँगै सबैभन्दा बढी दबाबमा महासचिव शंकर पोखरेल परेको एमालेभित्रकै बुझाइ छ। किनकि पछिल्लो समय ओलीले सबैभन्दा बढी राजनीतिक संरक्षण, जिम्मेवारी र विश्वास दिएका नेता पनि शंकर नै थिए। अब विद्याको सक्रिय प्रवेशले त्यो सन्तुलन भत्किन सक्ने र ओलीले समानान्तर शक्ति संरचना खडा गर्न थालेको संकेत दिएको कतिपय नेताहरूको विश्लेषण छ।

यता, एमालेभित्र अर्को बुझाइ पनि विकसित हुँदैछ—अब शंकर पोखरेलसँग विष्णु पौडेललगायतका नेतासँग सहकार्य गरेर नयाँ धार निर्माण गर्नुबाहेक सहज विकल्प बाँकी नरहन सक्छ। पोखरेल निकट एक नेताले अनौपचारिक रूपमा भनेका छन्, ‘अब एमालेभित्र साँच्चिकै दुई धार देखिने भयो। नयाँ मोर्चाबन्दी सुरु हुने निश्चित छ।’

यसबीच विद्या भण्डारीको पुनरागमनलाई केवल सदस्यता वितरणको सामान्य प्रक्रिया मान्ने ठाउँ क्रमशः साँघुरिँदै गएको छ। एमालेभित्रको उत्तराधिकारी राजनीति, शक्तिसन्तुलन, भावी नेतृत्वको प्रतिस्पर्धा र ओलीपछिको शक्ति संरचनाको बहस अब सतहमै आएको छ। र, त्यो बहसको केन्द्रमा अहिले एउटै नाम छ—विद्या भण्डारी।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट